यस्तो छ एक भाइरल तस्बिरको कथा

भारतका सामाजिक सञ्जाल प्रयोगकर्तामाझ दुई दिनयता एउटा तस्बिर भाइरल भइरहेको छ। नेतादेखि खेलाडीसम्मले टाइमलाइनमा  यो तस्बिर राखेका छन्। एउटी हजुरआमा र स्कुले ड्रेसमा रहेकी उनकी नातिनीको भावुक क्षण कैद भएको तस्बिर नेपालका सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि सेयर गरिरहेका छन्।

यो तस्बिर फोटो पत्रकार कल्पेश भचेचले सन् २००७ मा खिचेका हुन्। भचेचले बिबिसी गुजारती सेवासँग ११ वर्षपहिले खिचेको यो तस्बिरको कथा भनेका छन्।

सन् २००७ सेप्टेम्बर १२, त्यो मेरो जन्मदिनको अघिल्लो दिन थियो। म बिहान ९ बजे नै घरबाट निस्किएँ। निस्कने बेलामा श्रीमतीले भनिन्- साँझ छिटो घर आउनु। भोलि तपाईंको जन्मदिन हो। राति १२ बजे केक काट्नुपर्छ।

म निकै खुसी भएर हिँडे। केहीबेरमा मोबाइल बज्यो। फोन अहमदावादको मणिनगरस्थित जिएनसी स्कुलबाट आएको थियो। त्यहाँकी प्रिन्सिपलले फोन गरेकी रहिछन्। उनले भनिन्– हामी केटाकेटीसँग वृद्धाश्रम जाँदै छौं। उनले कार्यक्रमको फोटो खिच्न जानुहुन्छ कि भनेर मलाई सोधिन्।

मैले नाइँ भनिनँ। स्कुले केटाकेटी गएको घोडासरको मणिलाल गान्धी वृद्धाश्रम पुगें।

वृद्धाश्रममा एकातिर केटाकेटी बसेका थिए अर्कातिर बुढाबुढी। मैले उनीहरू सबैलाई सँगै बस्न आग्रह गरें किनकी त्यसो गर्दा मैले राम्रो तस्बिर खिच्न सक्थें।  

केटाकेटी उठ्दाउठ्दै, एकजना छात्रा एक वृद्ध महिलालाई हेरेर सुक्सुकाउन थालिन्। अचम्म त के भयो भने ती वृद्धा पनि ती छात्रालाई देखेर रून लागिन्। केहीबेरमा ती छात्रा दौडिएर वृद्धासामू गइन् र अँगालो हालिन्। यो देखेर सबैजना अचम्ममा परे।

त्यही क्षण  मैले क्यामेरामा कैद गरें। ती वृद्धालाई सोधेपछि थाहा भयो-उनीहरू त  हजुरआमा र नातिनी रहेछन्।

ती छात्राले पनि रूँदै वृद्धा आफ्नी बा भएको बताइन्। गुजरातीमा हजुरआमालाई बा भनिन्छ। उनले  हजुरआमा बिना  आफूलाई निकै नियास्रो लाग्ने गरेको पनि बताइन्। हजुरआमा घरमा नदेखेपछि उनले बुवालाई सोधिछन्। बुवाले हजुरआमा आफन्त भेट्न गएको बताएछन्। वृद्धाश्रम पुगेपछि उनले थाहा पाइन् साँच्चै हजुरआमा कहाँ गएकी रहिछन्।

हजुरआमा र नातिनीको मिलन देखेर त्यहाँ उपस्थित अरूहरूका पनि आँखा रसाए। माहौल सामान्य बनाउन केही बच्चाले भजन गाउन थाले।

अर्को दिन हजुरआमा र नातिनीको तस्बिर दिव्य भास्कर दैनिको पहिलो पृष्ठमा छापियो। गुजरातभरि जताततै यसको चर्चा भयो।

मेरो तीस वर्षको करियर पहिलो पटक एउटा तस्बिर पत्रिकामा छापिएको दिन हजारभन्दा बढी मानिसले मलाई फोन गरे।

अर्को दिन म साथीसँग ती वृद्धाको अन्तर्वार्ता लिन भनेर गएँ। उनले भनिन्– म आफ्नै मर्जीले यहाँ आएकी हुँ र आफ्नै मर्जीले यहाँ बसेकी छु।

(बिबिसी हिन्दीबाट अनुदित)

Leave a Reply