यसरी भयो गोदावरी जंगलमा किशोरीको बलात्कार

७ भदौ, काठमाडौं–बालाजुस्थित एक घरमा घरेलु मजदुरका रूपमा कार्यरत गोरखा घर भएकी १३ वर्षीया बालिकालाई ललितपुरको गोदावरी जंगलमा लगेर बलात्कार गरिएको छ । उनलाई काठमाडौंको नक्सालबाट गोदावरी पु-याइएको प्रहरी अनुसन्धानबाट खुलेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

‘घटना ‘कम्प्लिकेटेड’ छ । अहिले नै थप नबोलौँ । हामीले गम्भीर रूपमा लिएका छौँ । अनुसन्धान सुरु भइसकेको छ,’ ललितपुर प्रहरी परिसरका प्रमुख रवीन्द्रसिंह धानुकले भने । महानगरीय प्रहरी वृत्त सातदोबाटोका अनुसार बालिकाको मेडिकल जाँच गरिएको छ ।

तर, रिपोर्ट आइसकेको छैन । बालिकाले मोटरसाइकलबाट गोदावरी लगेर बलात्कार गर्नेको नाम खुलाउन नसकेका कारण अनुसन्धान गर्न गाह्रो भएको प्रहरीले बताएको छ । घटनाबारे महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले पनि अनुसन्धान गरिहेको छ ।

१ भदौबाट लागू भएको नयाँ मुलुकी अपराध (संहिता) ऐनमा १० देखि १४ वर्ष उमेरका बालिका बलात्कार गर्नेलाई १४ देखि १६ वर्षसम्मको कैद सजाय हुने व्यवस्था छ । संहिताको २१९ दफाको उपदफा ३ (ख)मा यो व्यवस्था छ ।

पीडित बालिका ‘मालिक’को घरमा खुसी थिइनन् । आफ्नै घर गोरखा फर्किन चाहन्थिन् । मंगलबार दिउँसो उनी मालिकको घरबाट निस्किइन् । एक अपरिचित व्यक्तिसँग उनको सम्पर्क भयो । जसले उनलाई गोरखा लगिदिने प्रलोभन दिए र मोटरसाइकलमा राखे । तर, तिनले बालिकालाई गोदावरी जंगल पु-याई बलात्कार गरेर फरार भए ।

बालिका जंगलमै अलपत्र परिन् । स्थानीयले जंगलमा रोइरहेको देखेपछि उनको उद्धार गरे । त्यसलगत्तै स्थानीयले प्रहरी कार्यालयमा खबर गरे । प्रहरी घटनास्थल पुग्यो र उद्धार ग-यो । अहिले बालिका प्रहरीकै रोहवरमा सेफहाउसमा छिन् ।

Leave a Reply