आरडिटी किट छैन, किट किन्न प्रक्रिया अगाडि बढाएका छौँ  – सुदूरपश्चिमका सामाजिक विकासमन्त्री

धनगढीको त्रिनगर भन्सार नाकामा आइतबार आइपुगेका मजदुर । आइतबार मात्रै सो नाकाबाट तीन हजार नौ सय ५० भित्रिए, कसैको पनि टेस्ट गरिएन । अन्य नाकामा पनि आरडिटी किट नभएकोले परीक्षण रोकिएको छ । तस्बिर : तेजराज भट्ट\नयाँ पत्रिका

रोजगारीका लागि भारतका विभिन्न सहर गएका नेपाली लस्करका लस्कर स्वदेश फर्किरहेका छन् । तर, किट अभावका कारण उनीहरूलाई स्वास्थ्य परीक्षण नगरी घर फर्काइँदै छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार आइतबार मात्रै गौरीफन्टा नाकाबाट तीन हजार नौ सय ५० जना भित्रिएका छन् । ३ जेठयता करिब साढे ११ हजार नेपाली फर्किएको उनले बताए । 

नाकामा स्वास्थ्य परीक्षण सम्भव नभएकाले सम्बन्धित स्थानीय तहहरूलाई क्वारेन्टाइनमा राख्न प्रदेश सरकारले समन्वय गरिरहेको प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले बताए । ‘आरडिटी किट र जनशक्ति अभावले नाकामा स्वास्थ्य परीक्षण गर्न सकिएन, सबैलाई क्वारेन्टाइनमा राखेर १४ दिनभित्र जाँच गर्न स्थानीय तहहरूलाई भनेका छौँ,’ उनले भने । 

संघीय सरकारसँग आरडिटी किट माग गरिएको र प्रदेश सरकार आफैँले पनि खरिद गर्न लागेको मन्त्री सुवेदीले बताए । तीस हजार आरडिटी किट र पिसिआर जाँचका लागि दुई हजार भिटिएम खरिद प्रक्रिया प्रदेश सरकारले अगाडि बढाएको उनले बताए । प्रदेशभर हालसम्म २५ हजार एक सय ३८ जनाको कोरोना परीक्षण गरिएको छ । चार हजार चार सय ६ को पिसिआर र बाँकीको आरडिटी विधिबाट परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयका कोरोना फोकल पर्सन नरेन्द्रसिंह कार्कीले बताए ।

बाँकेमा स्वास्थ्य परीक्षण समेत नगरी भित्र्याइँदै 

नेपालगन्ज नाका हुँदै भारतबाट फर्किएका नेपालीलाई स्वास्थ्य परीक्षण नगरी सम्बन्धित जिल्ला पठाउन थालिएको छ । यसले कोरोना संक्रमणको जोखिम बढाएको छ । यसअघि भारतबाट आउने नेपालीको तापक्रम नापेर मात्रै नेपाल भित्र्याउने गरिएको थियो । 

‘सम्बन्धित जिल्ला प्रशासन र स्थानीय तहसँग समन्वय गरेर नाकामा रहेका नेपालीलाई सवारीसाधनमार्फत सम्बन्धित जिल्लामा पठाउने गरिएको छ,’ बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भने । आइतबार मात्रै नेपालगन्ज नाकाबाट ७० वटा गाडीमा नेपाली भित्रिएका छन् । सीमा क्षेत्रको भारतीय बजार रुपइडिहामा रहेका उनीहरूलाई नेपालगन्जबाट गएका बस, हाइस र किया गाडीबाट सम्बन्धित जिल्ला पठाइएको जमुनहा प्रहरीले जनाएको छ । साँझसम्म करिब दुई हजार पाँच सय नेपाली स्वदेश भित्रिएका छन् । 

एक साताअघि स्वदेश ल्याइएका नेपालीको आरडिटी प्रविधिबाट कोरोना परीक्षण गरिएको थियो । तर, अहिले शरीरको तापक्रमसमेत जाँच नभएको नाकामा रहेको हेल्थ डेस्कका स्वास्थ्यकर्मी दुर्गा महत पाण्डेले बताइन् ।

भारतले रेलसेवा सञ्चालन गरेपछि स्वदेश फर्कने नेपालीको संख्या बढेको छ । नेपालगन्ज नाकाबाट दैनिक करिब दुई हजारका दरले भित्रिने गरेको इलाका प्रहरी कार्यालय जमुनहाका प्रमुख प्रहरी नायब निरीक्षक माधवप्रसाद रिजालले बताए । ‘भारतले रेल, बस र लकडाउनमा खुकुलो गरेपछि नेपालगन्ज नाकाबाट आउने नेपालीको भिड थामिनसक्नु छ,’ उनले भने । धेरैजसो कर्णाली र प्रदेश ५ को दाङ, रोल्पा, प्युठान, अर्घाखाँची, गुल्मी, पाल्पा घर भएकाहरू यो नाकाबाट आउने गरेका छन् । 

सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायका अनुसार बाँकेमा कोरोना पुष्टि भएका अधिकांश भारतको महाराष्ट्रबाट फर्किएका छन् । नरैनापुरमा कोरोना पुष्टि भएकामध्ये ९० प्रतिशत महाराष्ट्रबाट आएका रहेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । खजुरा गाउँपालिकामा पहिलोपटक पुष्टि भएका कोरोना संक्रमित पनि महाराष्ट्रबाटै आएका हुन् । 

नरैनापुर गाउँपालिकामा निषेधाज्ञा

जिल्ला सुरक्षा समितिको बैठकले नरैनापुर गाउँपालिकालाई निषेधित क्षेत्र घोषणा गरेको छ । नरैनापुरमा एक सय १४ जना कोरोना संक्रमित देखिएपछि सबै वडालाई अर्को सूचना जारी नहुँदासम्मका निषेधित क्षेत्र घोषणा गरिएको हो । निषेधित क्षेत्रमा नेपाली सेनाको भैरवप्रसाद दल गणको टोलीसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिने सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए । सुरक्षा समितिको बैठकले लक्षण नदेखिएका कोरोना संक्रमितलाई सम्बन्धित स्थानीय तहमा राख्ने व्यवस्था मिलाउन सबै स्थानीय तहमा ५० बेडको आइसोलेसन अस्पताल बनाउने निर्णय गरेको छ । 

भैरहवामा एकै दिन हजार नेपाली आए, ६ सय भारतीय गए, तर कसैको परीक्षण भएन

आइतबार दिनभर बेलहिया नाका व्यस्त रह्यो । नेपाली सुरक्षा निकाय भारतबाट फर्केका आफ्ना नागरिक ल्याउन र भारतीय सुरक्षाकर्मी आफ्ना नागरिक लैजान सक्रिय रहे । तर, आउने–जाने कसैको पनि स्वास्थ्य परीक्षण भने गरिएन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी खड्कबहादुर खत्रीका अनुसार आइतबार हजारभन्दा बढी नेपाली आएका छन् । त्यस्तै, नेपालमा रहेका ६ सयभन्दा बढी भारतीय फर्किएका छन् । ‘आउने क्रम अझै रोकिएको छैन,’ उनले भने । सिमानामा सेनिटाइज गरेर मात्र स्वदेश भित्र्याएको उनले बताए । 

इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार वैशाख मसान्तदेखि आइतबार साँझसम्म यो नाकाबाट करिब चार हजार सात सयभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । फर्किने क्रम बढेको छ । अहिले दैनिक हजारको हाराहारीमा फर्किरहेको प्रहरीले जनाएको छ । स्थानीय प्रशासनले सम्बन्धित जिल्ला प्रशासन र स्थानीय निकायसँग समन्वय गरेर उनीहरूलाई जिल्ला पठाउने गरेको छ । 

सिराहामा भारतबाट फर्किने बढ्दै

रोजगारीका लागि भारतका विभिन्न सहर गएका सात सय ८९ जना पछिल्लो एक सातामा सप्तरी फर्किएका छन् । भारतमा कोरोनाको जोखिमका कारण बन्द गरिएको रेलसेवा पुनः सुरु भएपछि नेपाल प्रवेश गर्नेको संख्या बढ्न थालेको छ । आइतबार मात्रै विभिन्न नाका हुँदै ६ महिलासहित ६८ जना प्रवेश गरेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । भारतबाट फर्किएका सबैलाई घरनजिक पर्ने ३३ वटा क्वारेन्टाइनमा राखिएको छ ।

१४ दिनसम्म उनीहरूलाई क्वारेन्टाइनमा राखिनेछ । जिल्लाभर अहिले ७६ महिलासहित नौ सय ९१ जना क्वारेन्टाइनमा छन् । अन्य जिल्लाका व्यक्तिलाई भने सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी पठाउने गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले बताए । लामो समयदेखि सीमामा अलपत्र परेका नागरिक अवैध रूपमा प्रवेश गर्ने र थप संक्रमण फैलन सक्ने त्रास बढेपछि सावधानी अपनाएर ४ जेठदेखि उनीहरूलाई प्रवेश गराउन थालिएको यादवले बताए ।

कञ्चनपुरमा भारतबाट आउने बढेपछि गड्डाचौकी नाका खोल्ने निर्णय

भारतबाट जोखिमपूर्ण यात्रा गरेर फर्किने नेपालीको चाप बढेपछि गड्डाचौकी नाका खोलिने भएको छ । आइतबार बसेको जिल्ला सुरक्षा समिति, कञ्चनपुरको बैठकले सोमबारदेखि गड्डाचौकी नाका खोलेर भारतबाट फर्किएका मजदुरलाई सुरक्षित रूपमा घर पठाउने निर्णय गरेको हो ।

भारतमा लकडाउन केही खुकुलो भएपछि स्वदेश फर्किने मजदुरको संख्या दिनप्रतिदिन बढिरहेको छ । १ देखि ११ जेठसम्म लुकीछिपी दुई हजार ४१ जना कञ्चनपुर पुगेको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ । उनीहरूलाई सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर पठाएको छ । तर, यो क्रम झन् बढेपछि जोखिम हुने ठहर गर्दै गड्डाचौकी नाका खोल्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी नूरहरिप्रसाद खतिवडाले बताए । ‘लुकीछिपी आउनेहरूको स्वास्थ्य परीक्षण गर्न सम्भव भएन । त्यसैले अब गड्डाचौकी नाकाबाटै व्यवस्थित रूपमा भित्र्याएर स्वास्थ्य परीक्षण गरिनेछ,’ प्रजिअ खतिवडाले भने । सोमबार दिउँसो १२ देखि साँझ ६ बजेसम्म नेपाल प्रवेश गराइने उनले बताए ।

कञ्चनपुरमा सोमबारदेखि भने लकडाउन कडाइ गरिने भएको छ । विदेशबाट आउने बढेकाले लकडाउन कडाइ गर्नुपरेको जनाइएको छ । स्वास्थ्य संस्था र औषधि पसलबाहेक अरू बन्द गरिने र यसका लागि प्रहरी परिचालन गरिने कञ्चनपुरका प्रहरी प्रवक्ता रवीन्द्र पौडेलले बताए ।

कपिलवस्तुमा संक्रमितको सम्पर्कमा रहेका तीनजना भागे

कपिलवस्तुको बुद्धभूमि–४ बुड्ढीमा कोरोना संक्रमितसँग ‘क्लोज कन्ट्याक्ट’मा रहेका तीनजना स्वाब संकलन नहुँदै भागेका छन् । स्थानीय बासिन्दाले संक्रमितको सम्पर्कमा रहेका व्यक्तिलाई क्वारेन्टाइनमा राख्नुपर्ने दबाब दिएपछि उनीहरू भागेका हुन् । 

बुड्ढीका दिदीभाइमा कोरोना संक्रमण देखिएको छ । उनीहरूको हजुरआमाको मृत्यु भएपछि स्थानीय बासिन्दा घरमा आएका थिए । उनीहरूको ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा ४५ जना भेटिएका थिए ।

उनीहरूले सेल्फ आइसोलेसनमा बस्न माग गरिरहेका छन् भने स्थानीय बासिन्दाले क्वारेन्टाइनमा राख्न दबाब दिएका छन् । जसले गर्दा दुई बालबालिकासहित ४२ जना स्थानीय भृकुटी माविको चौरमै रहेका छन् । ज्येष्ठ नागरिक, बालबालिका, दीर्घरोगीबाहेक सबैलाई क्वारेन्टाइनमा राखिने स्थानीय प्रशासनले जनाएको छ । 

कञ्चनपुरमा मोहन विष्ट, धनगढीमा तेजराज भट्ट, बाँकेमा विश्वराज पछल्डङ्ग्या, भैरहवामा दिपेश पछाई, कपिलवस्तुमा डिलाराम भुसाल, सप्तरीमा दिनेश पराजुली

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation