रुपन्देहीको तिलोत्तमामा जनप्रतिनिधिकै घरमा महिला हिंसा भएको पाइएको छ । तिलोत्तमा नगरपालिका उपप्रमुख जागेश्वरीदेवी चौधरीकै घरमा उनकी बुहारीमाथि घरेलु हिंसा भएको हो ।तिलोत्तमा नगरपालिका–१७, गंगोलिया मुडियारी निवासी जागेश्वरीदेवीकी बुहारी २५ वर्षीया बर्षा थारु घरेलु हिंसामा परेकी हुन् । बर्षाले आफ्ना श्रीमान् मोहन थारुले दैनिक रुपमा लागुपदार्थ सेवन गरी कुटपिट गर्ने, गाली बेइज्जती गर्ने र मानसिक यातना दिने गरेको भन्दै इलाका प्रहरी मंगलापुरमा उजुरी दिएकी छन् ।घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवल पठाइएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख एवं प्रहरी नायव निरीक्षक थमनबहादुर रोकाले जानकारी दिए । वर्षाले भनिन्, ‘श्रीमानले मलाई दिनहुँ यातना दिएपछि मैले उजुरी दिएकी हुँ, आइतबार पनि मलाई कुटपिट गरी घाइते बनाएपछि दिदीको घरमा आएर शरण लिएकी छु ।’एक छोराकी आमा वर्षा थारूले आफूले न्याय नपाएसम्म घर फर्कन नसक्ने बताइन् । घरमा ससुराले केही सहानुभूति देखाउने गरे पनि तिलोत्तमा नगरपालिकाकी उपप्रमुखसहित रहेकी सासु जागेश्वरीले निकै हेला गर्ने गरेको गुनासो उनले गरिन् ।इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले वर्षाका श्रीमान् मोहन थारु सम्पर्कविहीन भएको बताए । घटनाको थप अनुसन्धान जारी रहेको उनले जानकारी दिए ।