
प्रधानमन्त्री शेरबहादुर देउवा थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल जानुभएको छ । उहाँ आज बिहान त्यहाँ उपचाररत धनगढीका एक जना बिरामीको स्वास्थ्य अवस्था बुझ्न त्यहाँ जानुभएको बताइन्छ ।
लामो समयदेखि मृगौला रोगबाट पीडित धनगढीका नरबहादुर बलायरलाई भेट्न प्रधानमन्त्री देउवा नर्भिक जानुभएको हो । बिहान साढे ११ बजे अस्पताल पुग्नुभएका प्रधानमन्त्रीले बलायरको स्वास्थ्य अवस्था र उपचारपछि भइरहेको प्रगतिबारे सोधखोज गर्नुभएको थियो ।
झण्डै ५ मीनेट बलायर र उनका आफन्त तथा उपचारमा संलग्न चिकित्सक टोलीसँग कुराकानी गरेपछि उहाँ त्यहाँबाट बालुवाटार फर्कनुभएको हो ।
८१ वर्षीय बलायर दुवै मृगौलामा समस्या देखिएपछि केही दिनदेखि नर्भिक अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् ।