
गैरआवासीय नेपाली संघ बेलायतले आफ्नो ११ औं वार्षिक साधारणसभामा प्रमुख अतिथिका रुपमा निम्त्याउँदा पनि अन्तिममा धोका दिने राजदूत ज्ञानचन्द्र आचार्यविरुद्ध परराष्ट्रमा उजुरी दिने भएको छ । गत ६ अगष्टका दिन एनआरएनको ११ औं वार्षिक साधारणसभामा आउँछु भनेका आचार्यले आयोजकलाई तीन घण्टा कुराएर अन्तिममा अनुपस्थित भएका थिए ।
नेपाली कांग्रेसको कोटामा आएका राजदूतमाथि कुनै एक पक्षको कुरा सुनेर संघलाई झुक्याएको आरोप छ । ३३४ वटा सामाजिक संस्थालाई प्रतिनिधित्व गर्ने छाता संस्था एनआरएनए यूकेको वार्षिक साधारणसभामा १०३ वटा संस्थाका प्रतिनिधि सहभागी थिए । राजदूतले धोका दिँदा नेपाली समुदायको भावनामा चोट पुगेको ठहर गर्दै पक्षपातपूर्ण कार्यशैलीविरुद्ध उजुर हाल्न लागिएको एनआरएनए युके अध्यक्ष प्रेम गाहामगरले जनाए ।
गाहामगरले यस विषयमा राजदूतको धारणा माग्दा उनले दुई सातासम्म बेवास्ता गरेकाले उजुरी गर्ने अवस्थामा आफू पुगेको बताए ।
राजदूत नआएपछि एनआरएनए यूकेसहित झण्डै तीन दर्जन संघसंस्थाले कार्यक्रमस्थलमै स्वतस्फूर्त हस्ताक्षर गरी खेद प्रकट गरेका थिए । उक्त कार्यक्रममा राजदूतले हाम्रो प्रमुख आतिथ्य स्वीकारेपछि सोहीअनुसार तयारी भएको थियो । बिहान ११ बजे शुरु गर्नुपर्ने कार्यक्रमनिम्ति हजुरकै आश्वासनमा झण्डै तीन घण्टा प्रतिक्षा पनि गर्यौं । तर दुर्भाग्य, महामहिमले अन्तिम समयमा कार्यक्रममा आउन नसक्ने अवगत गराउनुभयो । यस कार्यले एनआरएनए यूकेमात्र होइन, बेलायतका सम्पूर्ण सामाजिक संस्थाको अपमान भएको ठहर गरेका छौं,’ गाहामगरले भनेका छन्, ’हामीले सोचेका थियौं नेपाल सरकारले पठाएको राजदूत समस्त बेलायतका नेपालीको अभिभावक र संरक्षक हो । तर, आचार्यले केही व्यक्ति विशेषको प्रभावमा एनआरएनए यूकेको त्यस्तो महत्वपूर्ण कार्यक्रमलाई अन्तिम समयमा घात गरिदिनुभयो ।’