
चाडबाडको मौकामा चोरी, लुटपाटका घटना बढी नै हुन्छन् । होसियार रहन आम जनसमुदायलाई चितवन प्रहरीको आग्रह छ । यस्तै ठगी, जुवातास, मापसे, झैझगडा, सवारी दुर्घटना, आतिशबाजी, उपभोग्य वस्तुको कृत्रिम अभाव, कालोबजारी, अवैध वस्तुको ओसारपसार, सवारी साधनहरुमा चर्काे भाडा असुली, गुण्डागर्दी जस्ता आपराधिक क्रियाकलाप पनि यो बेला ज्यादै हुने गरेको विगतको तथ्यांकलाई मध्यनजर गर्दै यस्ता अवाञ्छित घटना रोकथाम तथा नियन्त्रणका लागि चाडपर्व विशेष सुरक्षा योजना बनाएर जिल्लामा व्यापक प्रहरी परिचालन गरिएको एसपी नवराज अधिकारीले बताएका छन् ।
नेपालीहरुको महान चाडका साथै चुनाव पनि आउँदैछ । यसै सन्दर्भमा जिल्ला प्रहरी कार्यालय चितवनद्वारा हिजो आयोजित पत्रकार भेटघाट कार्यक्रममा एसपी अधिकारीले भने, ‘कसरी हुन्छ चाडबाड र निर्वाचनलाई भयरहित बनाउन सकारात्मक सूचना सम्पे्रषणका लागि आमन्त्रण गरेका हौं ।’
अपराध रोकथाम तथा नियन्त्रणका लागि जिल्लाभर सातसय प्रहरी परिचालन हुने एसपी अधिकारीले बताए । प्रहरीले सञ्चारमाध्यम र सामाजिक सञ्जालका साथै घरदैलो नै गरेर सचेतनामूलक प्रचारप्रसार अभियान चलाउने, ठाउँ–ठाउँमा यात्रु सहायता कक्ष स्थापना गर्ने, क्वीक रेस्पोन्स टिम, अस्पताल रेस्क्यु टिम, मोवाईलगस्ती, पैदल गस्ती, पिकेट ड्युटी, सादा पोशाकमा प्रहरी, लामो दूरीका सवारीसाधनमा बर्दी र हतियार सहितका प्रहरी परिचालन गर्ने, सुनचाँदीको कारोबार हुने स्थान र बैंक तथा वित्तीय संस्थाहरुमा कडा निगरानी राख्ने, बजार अनुगमन र नाकाहरुमा पनि चेकजाँचलाई तीव्रता दिने, यसक्रममा तालिमप्राप्त कुकुर समेत परिचालन गरिने एसपी अधिकारीले बताएका छन् ।
हालैमात्र मानवबेचविखनका लागि ओसारपसार गरिरहेको अवस्थामा एकजना पुरुषलाई पक्राउ गर्न पनि चितवन प्रहरी सफल भएको छ । ‘भारतको बाटो हुँदै कुवेत पठाइदिन्छु, कसैलाई नभन्नू’ भनी एउटी युवतीलाई ललाइफकाई लैजाँदै गर्दा बर्दिया घर भई काठमाडौं बस्ने ४८ वर्षीय खेमप्रसाद भट्टराईलाई भदौ २७ गते नै नारायणगढ पुल्चोकबाट नियन्त्रणमा लिएर मानव बेचबिखन तथा ओसारपसार कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच, चितवन प्रहरीले हराएका मोबाइलहरु पनि फेला पारी मंगलबार सम्बिन्धत धनीलाई बुझाएको छ । १४ हजारदेखि एकलाख भन्दा बढी मूल्यका आईफोन, सामसुङ, रेडमी, ओप्पो, भीभो, पोको लगायतका २६ थान मोबाइल प्रहरीले विभिन्न मितिमा, विभिन्न जिल्लामा चलाइरहेको अवस्थामा फेला पारेर सम्बन्धित धनीलाई बुझाइदिएको हो ।
पत्रकार भेटघाटका अवसरमा एसपी अधिकारीले जिल्लामा नयाँ आएका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितलाई पत्रकारहरुसँग चिनापर्ची पनि गराइदिए, जो जिल्ला प्रहरी कार्यालय चितवनको अहिलेका प्रवक्ता तथा सूचना अधिकारीसमेत हुन् ।