
सैनामैना, १३ असार ।
बुटवल उपमहानरपालिकाले सैनामैना नगरपालिका १ बनकट्टामा रहेको प्राकृतिक चिकित्सालयलाई सात लाख मूल्य बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ । शुक्रबार प्राकृतिक चिकित्सालयमा आयोजित एक कार्यक्रमबीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रादेवी अर्यालले प्राकृतिक चिकित्सालयका अध्यक्ष चित्रबहादुर कार्कीलाई उक्त सामान हस्तान्तरण गर्नुभयो ।
स्वास्थ्य सामाग्री हस्तान्तरणका अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल र सैनामैना छिमेकी पालिका भएको नाताले दुई पालिकाबीच मन जोडिएको बताउँदै आगामी दिनमा यो सहयोगले निरन्तरता पाउने उल्लेख गर्नुभयो । उहाँले कर्साघाटको शवदाह गृह निर्माणमा यो बर्ष काम नभएपनि अर्को बर्ष थप बजेट दिएर दुई पालिकाबीचको सहकार्यमा शबदाह गृह निर्माण गर्ने बताउनुभयो ।
यसैगरी नेपाल सामुदायिक योग तथा प्राकृतिक चिकित्सा केन्द्र सैनामैना चारपालाका अध्यक्ष चित्रबहादुर कार्कीले बुटवल उपमहानगरपालिकाले प्राकृतिक चिकित्सालयलाई विगतदेखि नै सहयोग गर्दै आएको बताउँदै चिकित्सालयको पूर्वाधार निर्माणमा ठूलो योगदान दिएको उल्लेख गर्नुभयो । बुटवल उपमहानगरको योगदान र भूमिका उल्लेखनीय रहेको र आगामी दिनमा पनि रहने अपेक्षा गर्नुभयो ।
बुटवल उपमहानगरपालिकाले हस्तान्तरण गरेको स्वास्थ्य सामाग्रीमा टेक लेजर थेरापी एकथान, एडभान्स स्केनिक लेजर थेरापी, हाईड्रोकोलेटर हट एकथान, एक्युटेन्स दुईथान, मसल स्टीमुलेटर एकथान, भेक्ट्रोडाईन एकसय एफटी च्यानल एकथान, जेड ट्रोली दुईथान र टिल्ट टेबल एकथान रहेको छ । यसैगरी बुटवल उपमहानगरले प्रशासनिक खर्चका लागि थप तीनलाख रुपैया समेत उपलब्ध गराएको छ ।