सैनामैना, माघ ११ ।
सैनामैना व्यापार संघको आयोजनामा सोमबारदेखि सैनामैनाको कलौनीमा सातौ कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सुरु हुने भएको छ ।
महोत्सवको एक समारोहका बीच सोमबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
संघले आईतबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवमा ५ करोडको कारोबार र एकलाख दर्शकले अवलोकन गर्ने जनाएको छ ।
सैनामैना व्यापार संघका अध्यक्ष तथा महोत्सव आयोजक समितिका संयोजक सुरेन्द्र पौडेलले महोत्सवले सैनामैनाको कृषि, ब्यापार, उद्योग र पर्यटन क्षेत्रको विकासमा सघाउ पु¥याउने बताउँदै स्थानीय उत्पादन र व्यवसाय प्रवद्र्धन हुने बताउनुभयो ।
माघ २५ गतेसम्म हुने व्यापार महोत्सवमा स्थानीय व्यापार, घरेलु उद्योग, कृषक र साना व्यवसायीलाई प्रोत्साहन गर्न सहयोग पुग्ने उहाँको भनाई छ ।
महोत्सवमा कूल १ सय ३० वटा स्टल रहने आयोजक समितिका प्रचार प्रसार संयोजक शिवलाल घिमिरेले जानकारी दिनुभयो
महोत्सव तयारीका क्रममा तयारीको काम तीब्ररुपमा अघि बढेको छ । महोत्सवको टिकट एकसय रुपैया कायम गरिएको छ भने विद्यार्थीलाई कार्डको आधारमा छुट तथा बृद्ध र अपांगहरुलाई निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।
संघका प्रथम उपाध्यक्ष तथा महोत्सवको सांस्कृतिक संयोजक दिपेन्द्र ढकालले महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, व्यापारिक स्टल, कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी लगायतको आकर्षण रहने बताउनुभयो ।
उहाँले महोत्सवबाट उद्योग व्यापारको प्रवद्र्धन, धार्मिक एवं सांस्कृतिक क्षेत्रको संरक्षण र लोक संस्कृतिको जगेर्ना गर्न सहयोग पुग्ने बताउनुभयो ।
महोत्सवको आकर्षणको रुपमा हरेक दिन सांस्कृतिक कार्यक्रम, भजन, डान्सिङ आईडल, विज्ञान प्रदर्शनी, महिला पुरुष जोडी नृत्य तथा विद्यालय स्तरीय लोकनृत्य समेत समाबेश हुने छ ।
स्थानीय व्यापार, कृषि, पर्यटन, कला र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवबाट सैनामैनासंगै यस क्षेत्रको उद्योग, व्यापार र लोक संस्कृति संरक्षण तथा प्रवद्र्धनमा टेवा पुग्ने आयोजकको भनाई छ ।
महोत्सवको आकर्षणको रुपमा पर्यटन क्षेत्रलाई समेटेर फोटो प्रदर्शनी तथा जलपरी र कलात्मक लण्डन ब्रिजको आकर्षण रहने बताइएको छ ।











