सैनामैनामा फर्निचर उद्योग अनुगमन उपसमिति गठन, अवैध कारोबारविरुद्ध कडाइ

सैनामैना । फर्निचर उद्योग संघ रूपन्देहीको आयोजनामा भएको उद्योगीहरूको भेलाले सैनामैना नगर स्तरीय फर्निचर अनुगमन उपसमिति गठन गरेको छ। भेलाले प्रकाश पराजुलीको संयोजकत्वमा १२ सदस्यीय उपसमिति चयन गरेको हो।
नवगठित उपसमितिको सह–संयोजकमा नारायणदत्त शर्मा, सचिवमा सुजन चौधरी चयन भएका छन्। सदस्यहरूमा सुदन रेग्मी, इन्द्रकमल पौडेल, बिसम्बर मल्लहा, कमल पाण्डे, छबिलाल पाण्डे, कुलराज गौतम, बिष्णु प्रसाद काफ्ले, रिमा कुवँर र सरोज श्रेष्ठ रहेका छन्।
भेलामा संघका अध्यक्ष जिवकान्त काफ्लेले फर्निचर उद्योग संघ रूपन्देही स्थापना कालदेखि नै नियमित अनुगमन गर्दै आएको उल्लेख गर्दै बिना दर्ता सञ्चालन हुने समूह, घुमन्ते कामदार र ठेकेदार समूहलाई नियन्त्रण गर्न अनुगमन प्रभावकारी माध्यम भएको बताए।
संघका पूर्व अध्यक्ष बिष्णुकुमार श्रेष्ठले स्थानीय उपभोक्ताको घर–घरमा पुगेर फर्निचर उत्पादन गर्दा दर्ता भई सञ्चालनमा रहेका व्यवसायीहरू मारमा परेको बताए। यसले स्थानीय सरकारलाई लाखौँ रुपैयाँ राजस्व कर चुहावट भएको उनको भनाइ थियो।
भेलामा संघका सल्लाहकार समिति संयोजक नरेशकुमार श्रेष्ठले रूपन्देहीभरिका फर्निचर उद्योगीहरू समान प्रकारका समस्याबाट ग्रसित रहेको उल्लेख गर्दै सबै उद्योगी एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रममा निबर्तमान अध्यक्ष तेजप्रसाद पराजुली, सल्लाहकारहरू बिष्णु पाण्डे, हरिहर पछाईं, बुद्धबहादुर सारु लगायत पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो। भेलामा उद्योगीहरूले कामदारको अभाव, उद्योग सञ्चालनमा देखिएका समस्या र बिना दर्ता घुमन्ते ठेकेदार समूहका कारण व्यवसाय धरासायी बन्दै गएको गुनासो गरेका थिए।
फर्निचर उद्योग संघ रूपन्देहीका वरिष्ठ उपाध्यक्ष तथा जिल्ला अनुगमन समिति संयोजक नेत्र रुचालले संघको कार्यक्षेत्र रूपन्देही जिल्लाभर फैलिएको उल्लेख गर्दै स्थानीय नगरपालिका, वडा कार्यालय र संघको सहकार्यमा अनुगमन समिति सक्रिय रूपमा परिचालन गरिने बताए।
कार्यक्रमको सञ्चालन संघका महासचिव खिम खड्काले गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation