सैनामैना, १५ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रुपन्देही क्षेत्र नं. ५ का उमेदवार मोहम्मद वकिल मुसलमानले विगतमा जितेर गएका संघीय प्रतिनिधिहरुले विकासको काम नगरेकोले रुपन्देही क्षेत्र नं. ५ विकासमा पछि परेको बताउनुभएको छ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सैनामैना नगर समितिको आयोजनामा भएको विस्तारित बैठकलाई सम्बोधन गर्दै क्षेत्र नंं ५ का उमेदवार मुसलमानले यसअघि जितेर गएका एमालेका टुरिष्ट उमेदवार अहिले क्षेत्र परिवर्तन गरेर अर्कै क्षेत्रबाट उमेदवार बनेको भन्दै जनताले दिएको भोट खेर गएको र विकासको काम एउटा पनि नगरेकोले एमालेले यो क्षेत्रबाट विश्वास गुमाईसकेको जिकिर गर्नुभयो । उहाँले कांग्रेस उमेदवारप्रति कटाक्ष गर्दै अन्तिमपटक चुनाव लडने बताउनेले जितेर गएपछि फर्केरपनि नआउने दावी गर्नुभयो ।
उहाँले आफूले जितेर गएपछि सैनामैना ७ मा रहेको सैनामैना औद्योगिक ग्राम निर्माण पूरा गर्ने प्रतिवद्धता जनाउँदै मलमलादेखि गजेडी जोड्ने भित्रि सडक बनाउने घोषणा गर्नुभयो । उहाँले आफ्नो प्राथमिकता रामापुर लुम्बिनी ककरहवा ६ लेन सडक बनाउने रहेको उल्लेख गर्दै यो सडक आफ्नै कार्यकालमा पूरा गर्ने दावी पनि गर्नुभयो ।
बैठकमा नेकपाका केन्द्रिय नेता चक्रपाणी खनाल बलदेब, निर्वाचन परिचालन समिति संयोजक हिराबहादुर रोक अमर, सैनामैना नगर समिति अध्यक्ष नारायण महत, नेकपाका नेता भोलानाथ बस्याल, नेकपा नेतृ दिपिका शर्मा, नेकपा रोमनाथ न्यौपाने लगायतले सहभागिता रहेको थियो । कार्यक्रमको संचालन नगर कमिटि सचिव राजेन्द्र घिमिरेले गर्नुभएको थियो । बैठकले चुनावी रणनीति तय गरेको थियो ।











