निर्वाचन परिणाम प्रतिवेदन आज राष्ट्रपतिलाई बुझाइँदै

काठमाडौँ — निर्वाचन आयोगले २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचन परिणामसम्बन्धी प्रतिवेदन बिहीबार राष्ट्रपतिलाई बुझाउने भएको छ । यता संसद् सचिवालयले नवनिर्वाचित सांसदको शपथग्रहण कार्यक्रम १२ चैतमा राख्ने तयारी गरेको छ । सांसदको शपथपछि मात्र रास्वपाले संसदीय दलको नेता चुन्ने भएकाले नयाँ सरकार गठनमा समय लाग्ने देखिएको छ ।

आयोगले प्रतिवेदन बुझाउन राष्ट्रपति कार्यालयबाट बिहीबार अपराह्न ४ बजेको समय पाएको हो । त्यसपछि राष्ट्रपतिले निर्वाचन परिणाम प्रतिवेदन संसद् सचिवालयलाई पठाउनुपर्नेछ । राष्ट्रपति कार्यालय र संसद् सचिवालयले प्रतिवेदन प्राप्त गरिसकेपछि मात्र निर्वाचन परिणामले औपचारिकता पाउनेछ । आयोगको प्रतिवेदन राष्ट्रपति कार्यालयमार्फत पाएपछि मात्र संसद् सचिवालयले शपथसम्बन्धी प्रक्रिया अघि बढाउनेछ ।

संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले निर्वाचन परिणामको औपचारिक जानकारी सचिवालयलाई प्राप्त हुनासाथ शपथसम्बन्धी सूचना आह्वान गरिने बताए । उनका अनुसार सबै निर्वाचित सांसदलाई काठमाडौं आउन लाग्ने समय दिएर शपथको मिति तय गरिनेछ । शपथका लागि काठमाडौं आइपुग्न कम्तीमा एक साताको समय राखेर १२ चैतमा शपथग्रहण कार्यक्रम राख्ने गृहकार्य भएको उनले बताए ।

प्रतिनिधिसभा निर्वाचन ऐनले प्रतिनिधिसभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष निर्वाचित सांसदले शपथ लिनुपर्ने तोकेको छ । सभामुख र उपसभामुख निर्वाचित नभएको अवस्थामा प्रतिनिधिसभाको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संविधानको धारा ९१९५० मा उल्लेख छ । संसद् सचिवालयले निर्वाचन परिणामको प्रतिवेदन प्राप्त गरिसकेपछि ज्येष्ठ सदस्य पहिचान गर्नेछ । ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिएपछि उनले निर्वाचित भएर आएका सांसदलाई शपथ गराउनेछन् । नयाँ बन्दै गरेको संसद् भवनमा रहेको बहुउद्देश्यीय हललाई सांसदको शपथग्रहण समारोहका लागि तयार गरिँदै छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation