पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै सार्वजनिक सवारीको भाडा बढेको छ । यातायात व्यवस्था विभागले आजदेखि अन्तर प्रदेशमा चल्ने गाडीको नयाँ भाडादर लागू गरेको हो ।
यात्रुवाहक सवारी साधनमा चार दशमलव ७० प्रतिशत, पहाडमा चल्ने मालवाहकमा ६ दशमलव १५ प्रतिशत र तराईमा चल्ने मालवाहक सवारी साधनमा ६ दशमलव ८३ प्रतिशत भाडा वृद्धि गरिएको विभागले जनाएको छ ।
मध्यपूर्वको तनावसँगै एसियाली मुलुकहरुमा पेट्रोलियम पदार्थ र ग्याँसको संकट देखिन थालेको छ । नेपालमा ग्याँस र पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित भएपछि नेपाल आयल निगमले गत चैत १ गतेदेखि लागू हुनेगरी मूल्य बढाएको छ ।
पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ, डिजेल तथा मट्टितेलमा १० रुपैयाँ र एलपी ग्याँसमा प्रतिसिलिण्डर २१६ रुपैयाँ वृद्धि भएको छ । इन्धनको भाउ बढेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विज्ञप्ति जारी गरेर सार्वजनिक तथा मालवाहक सवारीको भाडा बढाउन माग गरेको थियो ।
व्यवसायीको मागबमोजिम विभागले भाडा बढाएको हो । यसअघि २०८० साउन ३१ गते भाडा वृद्धि भएको थियो ।











