सैनामैना, रुपन्देही सैनामैना नगरपालिका वडा नं. ४ को सहयोग तथा सैनामैना दलित उत्थान वडा समिति–४ को आयोजनामा दलित महिला तथा युवतीहरूका लागि एक महिने व्युटिसियन सीपमूलक तालिम सुरु भएको छ। वडाभित्रका दलित समुदायका महिलाहरूलाई सीप विकासमार्फत स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले बिहीबार एक कार्यक्रमका बीच तालिमको उद्घाटन गरिएको हो।
तालिमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं सैनामैना वडा नं. ४ का वडा अध्यक्ष रामप्रसाद अधिकारीले सीप बिनाको शिक्षा अपूर्ण हुने बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले दलित महिलाहरूको क्षमता अभिवृद्धिका लागि यो लगानी गरेका हौँ। तालिममा सिकेको सीपलाई घरमै सीमित नराखी व्यावसायिक रूपमा अगाडि बढाउनुहोला।” वडाले आगामी दिनमा पनि यस्ता सीपमूलक कार्यक्रमलाई निरन्तरता दिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।
विशिष्ट अतिथि सैनामैना दलित उत्थान नगर समितिका उपाध्यक्ष जुद्धबहादुर विश्वकर्माले दलित समुदायका युवतीहरूलाई आधुनिक बजारको माग अनुसारको सीप सिक्ने अवसर प्रदान गरिएकोमा खुसी व्यक्त गर्नुभयो।
अतिथिहरूको शुभकामना तालिम उद्घाटन सत्रमा वडा नं. ४ का जनप्रतिनिधिहरू तेजेन्द्र सुवेदी, निर्मला बगाले, र दलित महिला जनप्रतिनिधि निशा परियारले सहभागीहरूलाई पूर्ण समय दिएर सीप सिक्न आग्रह गर्नुभयो। त्यस्तै, सैनामैना दलित उत्थान नगर समितिको महासचिव कमला सुनार र सद्स्री राजेन्द्र रणपालले शुभकामना मन्तव्य राख्दै व्यावसायिक दक्षताले नै समाजमा सम्मान र आर्थिक स्वतन्त्रता दिलाउने धारणा राख्नुभएको थियो ।
एक महिनासम्म चल्ने उक्त तालिममा वडाका १३ जना दलित महिला तथा युवतीहरूको सहभागिता रहेको छ। तालिमको प्रशिक्षण सीता क्षेत्रीले गर्नुहुनेछ।
सैनामैना दलित उत्थान वडा समिति–४ का अध्यक्ष सागर विश्वकर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन वडा सचिव वसन्तले गर्नुभएको थियो।











