सैनामैना ।
सैनामैना–८ निवासी समाजसेवी तथा शिक्षाप्रेमी अन्जु पाण्डेले आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै एक प्रेरणादायी कार्य गर्नुभएको छ। उहाँले छोरा रबिन पाण्डे र छोरी रन्जिता पाण्डेको सहयोगमा स्वर्गीय बुवा नुमलाल पाण्डे, माता गोमकला पाण्डे तथा स्वर्गीय श्रीमान कमलप्रसाद पाण्डेको पवित्र स्मृतिमा श्री जनचेतना माध्यमिक विद्यालयमा अक्षय कोष स्थापना गर्नुभएको हो।
उक्त कोषमार्फत अभिभावकविहीन तथा विपन्न विद्यार्थीहरूको शिक्षा संरक्षण र उज्ज्वल भविष्य निर्माणमा टेवा पुग्ने विश्वास लिइएको छ। यसका लागि उहाँले नगद रु २,००,०५५ (अक्षरूपी दुई लाख पचपन्न) रुपैयाको अक्षय कोष स्थापना गर्नुभएको विद्यालयले जनाएको छ।
विद्यालय परिवारले यस सहयोगलाई उच्च सम्मान गर्दै यस्ता सहयोगी र मनकारी हातहरूबाट शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरेको छ। साथै विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धि र भौतिक पूर्वाधार सुधारलाई पनि प्राथमिकतामा राख्दै आगामी दिनमा अझ प्रभावकारी शैक्षिक वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएको छ।
यस अवसरमा विद्यालय परिवारले अन्जु पाण्डेलाई विशेष धन्यवाद ज्ञापन गर्दै जन्मदिनको शुभ अवसरमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।











