- बैशाख २९,सैनामैना । नगरपालिका क्षेत्रमा तातोहावाको लहर “लू” बाट हुने स्वास्थ्य जोखिम न्यूनीकरण गर्ने उद्देश्यले विद्यालय तथा स्वास्थ्य चौकीहरूलाई सहायता सामग्री वितरण गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी र स्वीस रेडक्रसको संयुक्त सहकार्य तथा सहलगानीमा सञ्चालित शहरी पूर्वतयारी तथा आपतकालीन प्रतिकार्य प्रवर्द्धन (SUPER) परियोजना अन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
परियोजनामार्फत सन् २०२५ देखि नै तातोहावासँग सम्बन्धित सचेतना तथा स्वास्थ्यसम्बन्धी विभिन्न गतिविधिहरू सञ्चालन हुँदै आएका छन् ।
मंगलबार आयोजित कार्यक्रममा नगरपालिकाभित्र रहेका १४ वटा सामुदायिक विद्यालय र ११ वटा स्वास्थ्य चौकीलाई गर्मीजन्य असर न्यूनीकरणका लागि सामग्री वितरण गरिएको हो । प्रत्येक संस्थालाई ३ वटा टेबल फ्यान र १ वटा कुलरका दरले जम्मा ७५ वटा फ्यान र २५ वटा कुलर वितरण गरिएको जानकारी दिइएको छ ।
कार्यक्रममा नगर प्रमुख फणेन्द्र प्रसाद शर्मा, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनी, नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाका सभापति रामचन्द्र उपाध्याय, विपद् सम्पर्क व्यक्ति इ. सुरज न्यौपाने, शिक्षा शाखा प्रमुख टीकाराम शर्मा, स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थी, केन्द्रीय कार्यालयका वरिष्ठ लेखा अधिकृत मायानाथ बराल, जिल्ला परियोजना अधिकृत कृष्ण मल्ल, योजना अनुगमन तथा मूल्यांकन अधिकृत डिल्ली राज जोशी लगायत सरोकारवाला निकायका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, स्वास्थ्य चौकी प्रमुख, कर्मचारी तथा स्वयंसेवकहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख शर्माले गर्मीका कारण विद्यालय र स्वास्थ्य संस्थामा सेवा प्रभावित हुन थालेको उल्लेख गर्दै वितरण गरिएका सामग्रीले शीतल वातावरण सिर्जना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले प्रत्येक संस्थामा “कुलिङ रूम” स्थापना गर्ने पहलमा समेत सहयोग पुग्ने अपेक्षा गर्दै सामग्रीको दीगो र प्रभावकारी प्रयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमले तातोहावाबाट उत्पन्न हुन सक्ने स्वास्थ्य जोखिम न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।











