सर्प देख्ने वित्तिकै मार्ने त गर्नुभएको छैन ? कि कतै डराएर भाग्ने गर्नुभएको छ ? हो सर्प देख्ने वित्तिकै हामी सवैको डराउने र आत्तिने बानी छ तर अब नआत्तिनुहोस । सर्प उद्धार गर्न सैनामैनामा अव १३ जना सर्प उद्धारकर्ता तयार हुनुभएको छ ।
यो दृष्य कसैको घरमा सर्प उद्धार गर्दाको होइन, यो त बरु गर्मी धेरै भएको अवस्थामा सर्पको जोखिम समेत बढिरहेकोले सर्प उद्धार कसरी गर्ने भन्ने तालिममा देखाइएको सर्प उद्धारको कला हो ।
सैनामैना नगरपालिका र नेपाल रेडक्रस सोसाईटीको सुपर परियोजनाले सैनामैनाको बाबरी पार्टी प्यालेसमा सर्प उद्धार तालिम आयोजना गरेको छ । सोही तालिममा सहभागीहरुले पहिले सर्प देख्नेवित्तिकै मार्ने गरेकोमा अव तालिम लिएपछि सर्प प्रकृतिका लागि आवश्यक छ भन्ने बुझेको बताएका छन ।
सैनामैना नगरपालिकाका जनप्रतिनिधि समेत रहनुभएका वडा नंं. ६ का वडा सदस्य आशीष पोखरेलले सर्प उद्धार सम्वन्धि तालिम लिएपछि सैनामैनामा १३ जना सर्प उद्धारकर्ता भएको बताउँदै पहिले सर्प देख्नेवित्तिकै मार्ने गरिएकोमा अव समुदायलाई समेत जागरुक बनाएर सर्प समातेर निश्चित स्थानमा छोडने बताउनुभयो ।
सैनामैना नगरपालिका वडा नंं ७ का स्थानीय कृष्ण भट्टराईले पनि सर्प उद्धार तालिम लिनुभयो । पहिले सर्प देख्ने वित्तिकै मार्ने गरेकोमा अव तालिम लिएपछि सर्प उद्धार गरी सुरक्षित बासस्थानमा छोडने उहाँको प्रतिबद्धता छ ।
सैनामैना वडा नंं ८ का किरण तिवारीले यसअघि गाउँघरमा सर्प देखिए उद्धार गर्नुहुन्थ्यो । उहाँले पनि सर्प उद्धार सम्वन्धि तालिम लिनुभयो । तालिम लिएपछि सर्प कसरी छोप्ने, सर्पलाई कसरी सुरक्षित बासस्थानसम्म पु¥याउने लगायतका विषयमा धेरै जानकारी पाएको तिवारीको भनाई छ ।
सैनामैनामा आयोजित तिन दिने तालिमको मूख्य प्रशिक्षकमा जीव विज्ञ कमल देवकोटा हुनुहुन्थ्यो । तालिममा उहाँले सुरक्षित सर्प उद्धार, सर्पको जोखिम, बिषालु र अबिषालु सर्पका प्रकार, तराईमा पाईने विषालु सर्प, सैनामैनामा बिषालु सर्पको जोखिम लगायतका विषयमा सहभागीहरुसंग छलफल तथा परामर्श गर्नुभयो । उहाँले सर्पलाई किसानको साथी मानिन्छ तर सर्प देख्नेवित्तिकै टोक्छ कि भन्ने डराएर मार्ने, सर्पले टोकेमा झारफुक गर्ने तथा स्वास्थ्य संस्थासम्म जान ढिलाई गर्दा भैरहेको मानवीय क्षतिको विषयमा तालिम दिनुभएको थियो । बर्षेनी नेपालमा सर्पको जोखिम बढिरहेको छ । उहाँका अनुसार नेपालमा बार्षिक २० हजारलाई सर्पले टोक्छ र त्यसमध्ये एक हजारको मृत्यु हुन्छ । तराईमा बढिरहेको सर्पको जोखिम कम गर्न पनि यस प्रकारका सर्प उद्धार तालिम आवश्यक रहेको छ ।
सैनामैनाको बाबरी पार्टी प्यालेसमा भएको तीन दिने तालिमको समापन समारोहमा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले रुपन्देही जिल्लामै सर्पको उद्धार सम्वन्धि तालिम दिने सैनामैना पहिलो नगरपालिका हो भन्दै तालिमले सैनामैनमा सर्पको उद्धार गर्न, जोखिम कम गर्न, सर्प मार्नु हुँदैन भन्ने जनमानसमा चेतना फैलाउन महत्वपूर्ण सावित हुने विश्वास ब्यक्त गर्नुभयो ।
तालिममा सैनामैनाका १३ जनाको सहभागिता रहेको थियो । तालिमको प्रशिक्षकमा सर्प उद्धारकर्ता चेतबहादुर सारु र खिमलाल पाण्डे हुनुहुन्थ्यो । तालिम लिएकाहरुले गाउँघरमा सर्प देखिने सर्प उद्धार गर्ने प्रतिवद्धता जनाएका थिए ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/ujyaalopost.com/public_html/wp-includes/functions.php on line 6170










