बुटवल । नेकपाले घोषणा गरेको देशव्यापी नेपाल बन्दको प्रभाव बुटवलमा विहानैदेखि परेको छ । बुटवलको यातायात, बजार क्षेत्र, औद्योगिक क्षेत्र, शैक्षिक संस्था, होटल व्यवसायहरु बन्द रहेका छन् ।
नेकपा विहानैदेखि शान्तिपूर्ण रुपले पेट्रोलियम पदार्थ र खाद्यबस्तुमा बढाएको चर्को मूल्यवृद्धि विरुद्ध नारा लगाएका छन् । सडकहरुमा गाडीहरु चलेका छैनन् । लामा र छोटा दुरीका सबै यातायातका सवारी साधनहरु बन्द रहेका छन् ।
बन्दकर्ताहरु राजमार्ग र बजार क्षेत्रमा बसेर मूल्यवृद्धिबारे जनतालाई सचेत गराइरहेका छन् । नेपाल बन्दको समर्थन गर्दै मजदुर, किसान, सुकुम्बासी, विद्यार्थीलगायत सडकमा उत्रिएर मूल्यवृद्धि विरुद्ध नारा लगाइरहेका छन् ।
बन्दको क्रममा अत्यावश्यक एम्बुलेन्स, दम्कल, दुधको गाडीलाई सञ्चालन हुने दिने नेकपाले बताएको छ । बन्द साँझ ५ बजेपछि खुल्ने समेत नेकपा स्रोतले बताएको छ ।