महाधिवेशन र सम्मेलनले चुनावी माहोल बन्दै : प्रचण्ड

उज्यालो पोष्ट, सैनामैना ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश यतिबेला चुनावी माहोलमा रहेको भन्दै कार्यकर्तालाई चुनावको तयारीमा जुट्न निर्देशन दिएका छन् । दलहरूका महाधिवेशन र सम्मेलनहरूलाई आउने चुनावको तयारी रुपमा व्याख्या गर्दै उनले मंगलबार बुटवलमा आयोजित कार्यक्रममा कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन् ।

सवारी दुर्घटनामा परी निधन भएका माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज रामप्रसाद बन्जाडे ‘टंकमणि’को श्रद्धाञ्जली सभामा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले जनतालाई शिक्षा, स्वास्थ्य, रोजगार, विकास, समृद्धि मार्फत समाजवाद तर्फ लैजानुपर्ने उल्लेख गरे।

उनले सबै दलहरूको अहिले महाधिवेशन र सम्मेलन चलिरहेको भन्दै मुलुकमा चुनावी माहोल पनि सुरु भएको बताए। उनले चुनावका लागि तयार रहन कार्यकर्तालाई निर्देशन समेत दिए।

प्रचण्डले स्वर्गीय बन्जाडेले पार्टीले दिएको जस्तोसुकै जिम्मेवारी पनि पुरा गरेको भन्दै स्मरण गरे।

कार्यक्रममा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य चक्रपाणि खनालले द्वन्द्वकालमा थुप्रै लडाईँमा आफूहरुले सहकार्य गरेको सम्झिए।

बुटवलको जितगढीमा मोटरसाइकल दुर्घटनामा परी गत बुधबार बन्जाडेको मृत्यु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation