‘ओमिक्रोन’ भित्रिन नदिन रुपन्देहीमा उच्च सतर्कता

बुटवल । रुपन्देहीको सीमा क्षेत्रमा कोभिड– १९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सङ्क्रमण भित्रिन नदिन उच्च सर्तकता अपनाइएको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अध्यक्षतामा बसेको जिल्ला कोभिड– १९ सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले सो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले जानकारी दिए ।

उनले बढी आवतजावत हुने जिल्लाको बेलहिया नाकालगायतका अन्य विभिन्न नाकामा पनि उच्च सर्तकता अपनाउन सम्बन्धित पालिकालाई पत्राचार गरिएको समेत जानकारी दिए । “विदेशी नागरिकको निगरानी गर्नुका साथै, जाँचलाई कडाइ गर्न र सचतेना फैलाउने काम गर्ने विषयलाई ध्यान दिइएको छ” उनले भने।

बेलहिया नाकाबाट भारतलगायत, अष्टेलिया, नेदरल्याण्ड, चीनलगायतका मुलुकबाट पर्यटक नेपाल भित्रिने गर्छन् । स्वास्थ्य कार्यालयका प्रमुख राजेन्द्र गिरीले सीमा क्षेत्रमा मास्क र सेनिटाइजरको प्रयोगलाई कडाइ गर्दै खोपको मात्रा पूरा भएको वा नभएकोसमेत निगरानीमा राख्न र शङ्कास्पद भए ‘रेपिड एन्टिजोन टेष्ट’ गर्न निर्देशन दिइएको जानकारी दिए ।

उनले जनजीवनलाई सामान्य गर्दै विदेशी पर्यटकलाई लक्षित गरेर सचेतना अपनाउने विषयलाई प्राथमिकता दिइएको उल्लेख गर्दै बुटवल उपमहानगरापलिका, तिलोत्तमा र देवदह नगरपालिका, ओमसतिया र रोहिणी गाउँपालिकामा १८ वर्ष उमेर माथिकालाई खोपको दुई मात्रा दिइएको बताए ।

उनले जिल्लाका अन्य ११ पालिकामा पनि आजबाट नै खोपाको दुई मात्रा दिइने जानकारी दिँदै अहिलेसम्म रुपन्देहीमा खोपको पहिलो डोज लगाउने ६० प्रतिशत र दोस्रो डोज लगाउने ५० प्रतिशत भएको बताउनुभयो । सीमा क्षेत्रमा शङ्कास्पद भेटिएको नागरिकमा रेपिड एन्टिजोेन टेष्ट पोजेटिभ देखिए प्रदेश जनस्वास्थ्य प्रयोगशाला र राष्ट्रिय प्रयोगशालाको समन्वयमा उपचार गरिने बताइएको छ । ओमिक्रोनलाई विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० ले भेरियन्ट अफ कन्सर्नको सूचीमा राखेको छ । जिल्लामा अहिलेसम्म कोभिड–१९ बाट ५५८ को मृत्यु भएको कार्यालयले जनाएको छ । (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation