नर्सिङमा भर्ना रोकियो, शुल्क फिर्ता गर्न निर्देशन

चिकित्सा शिक्षा आयोगको पत्रपछि सीटीईभीटीले १५ वटा नर्सिङ कलेजको भर्ना प्रक्रिया रोक्ने निर्णय गरेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले मापदण्डविपरीत भर्ना खोलिएका १५ वटा नर्सिङ कलेजको भर्ना रद्द गर्ने निर्णय गरेको हो ।

सीटीईभीटीले दुई साताअघि पीसीएल नर्सिङको निम्ति ४५ वटा कलेजमा भर्ना खुलाएको थियो । आयोगले ऐनविपरीत सीटीईभीटीले विश्वविद्यालय, प्रतिष्ठान र उनीहरूका आंगिक र सम्बन्धनप्राप्त १५ कलेजमा नर्सिङ भर्ना खुलाएको भन्दै उक्त कार्य रोक्न निर्देशन दिएपछि सीटीईभीटीले पछिल्लो निर्णय गरेको हो ।

यही मंसिर ८ गते भर्ना खुला गरिएका ४५ मध्ये १५ वटा नर्सिङ कलेजको भर्ना रोकिएपछि ती कलेजमा भर्ना प्रकियाका लागि शुल्क बुझाएका परीक्षार्थीको शुल्क फिर्ता हुने सीटीईभीटीले जानकारी दिएको छ । साथै, ती कलेजमा भर्ना प्रक्रिया अघि बढाएका विद्यार्थीलाई अरू कलेजमा आवेदन पेश गर्न सुसुचित समेत गराइएको छ ।

नोबल मेडिकल कलेज, नेशनल मेडिकल कलेज, बीएन्डबी मेडिकल इन्ष्टिच्युट, नागरिक कलेज अफ हेल्थ साइन्स, कलेज अफ मेडिकल साइन्सेज, एनपीआई नारायणी सामुदायिक अस्पताल, अल्का अस्पताल, कलेज अफ मेडिकल साइन्सेज, नेप्लिज आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सेजलगायत कलेजमा भर्ना प्रक्रियामा रोक लगाइएको छ ।

त्यस्तै, काठमाडौं मोडल अस्पताल स्कुल अफ नर्सिङ, मनमोहन मेमोरियल इन्ष्टिच्युट अफ हेल्थ साइन्सेज, ओम हेल्थ क्याम्पस, मणिपाल कलेज अफ मेडिकल साइन्सेज, लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल, देवदह मेडिकल कलेज एन्ड रिसर्च इन्ष्टिच्युट, नेपालगञ्ज नर्सिङ क्याम्पसले पनि भर्ना शुल्क फिर्ता दिने भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation