भैरहवामा उद्घाटन सात करोड बढिको गोल्डेन गेट

English English Nepali Nepali

बुटवल, बेलहियाबासीको ब्यापक असन्तुष्टिका बिच रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले निर्माण गरेको प्रवेशद्वारको उद्घाटन गरिएको छ।

सिद्धार्थनगर वडा नं। १ स्थित डण्डा खोला नजिक निर्माण गरिएको उक्त प्रवेशद्वारको पूर्वमन्त्री एवं रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य घनश्याम भुसालले आईतवार उद्घाटन गरेका हुन्। उक्त प्रवेशद्धार निर्माणमा ७ करोड बढि रकम खर्च गरिएको छ।

नगरपालिकामा निर्वाचित जनप्रतिनिधीले पदबहाली गरे संगै निर्माण प्रक्रिया थालिएको उक्त प्रवेशद्धार सिमानाका बेलहियादेखि एक किलोमिटर अगाडी निर्माण गरिएको भन्दै बेलहियावाशीले असन्तुष्टी जनाएका थिए।

बेलहियाका बासिन्दाले आफुहरुलाई प्रवेशद्धारले सिद्धार्थ नगरसंग अलग गर्न खोजेको गुनासो गर्दै आएका छन्। सिद्धार्थनगरको बेलहिया नाका स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने नाका हो।

प्रवेशद्वार उद्घाटन गर्दै सांसद भुसालले लुम्बिनी र रुपन्देहीको पर्यटन विकासमा यसले सकारात्मक प्रभाव पार्ने बताए। पर्यटक बढे यस क्षेत्रको कारोबार बढ्छ, पर्यटकको बसाई लम्बिन्छ’‘यसले सिंगो लुम्बिनीको आर्थिक बृद्धिदरमा टेवा पुग्छ।’ भुसालले भने,।

भारतिय सिमानाका हुंदै लुम्बिनी आउने पर्यटकहरुलाई बुद्धजन्मस्थल लुम्बिनी प्रवेश गरेको अनुभुति दिलाउने भन्दै बुद्धत्व झल्किने पर्यटकीय गेट निर्माण गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारी बताए।

नगरपालिकाले २०७५ साल मंसीरमा भैरहवाको प्राकृतिक निर्माण सेवासँग प्रवेशद्वार निर्माणको ठेक्का सम्झौता गरि तिनवर्षको अवधीमा निर्माण सम्पन्न गरेको हो।

नगरपालिकाका फिल्ड सुपरभाइजर चेतनारायण ज्ञवालीले गेट निर्माणको ठेक्का सम्झौता गर्दा २०७८ असार २५ गतेभित्रै निर्माण सम्पन्न गर्नुपर्ने समयसिमा तोकिएको भएपनि दुईवर्ष देखि फैलिएको कोरोना महामारीका कारण ५ महिना ढिलाई भएको बताए।

नेपाल र बुद्धको चिनारी झल्कने गरी तयार गरिएको प्रवेशद्वारको एडिट कन्सल्टेन्सी काठमाण्डौंले डिजाईन गरेको हो। गेटको डिजाइनपछि पुरातत्वविद्, लुम्बिनीका जानकार, शान्ति अभियन्ता, संस्कृतिविद्, समाजसेवी, बुद्धिजिवी, इन्जिनियर, जनप्रतिनिधि, परामर्शदाता, बौद्धज्ञाता र नगरबासीको छलफलपछि मात्रै पास गरिएको थियो।

प्रवेशद्वारमा बुद्धमूर्ति र स्वयम्भूका आँखासहितको बुद्ध चिनारी, अशोक स्तुपा राखिएको छ। नगरप्रमुख अधिकारीले प्रवेशद्वारले सिद्धार्थनगरको सुन्दरता थपिएको दावी गरे। उनले बुद्ध जन्मभुमि लुम्बिनीको प्रवेशद्वारको रुपमा रहेको सिद्धार्थनगरमा आईपुगेको अनुभुति दिन प्रवेशद्वार निर्माण गरिएको बताए।

५० मिटर लम्बाई, २३ मिटर ८० सेन्टिमिटर चौडाई तथा सडकदेखि २९ मिटर अग्लो रहेको उक्त प्रवेशद्वरमा नेपालको चिनारी झल्कने कलात्मक वस्तु, स्वयम्भूको आँखासहितको बुद्ध चिनारी, अशोका, स्तूपा, विभिन्न १२ वटा बुद्धमूर्ति, हर्निका, आर्च र स्पायर गजूरले सिंगारिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2022 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation