![](https://ujyaalopost.com/wp-content/uploads/2022/01/1642558584Screenshot_20220119_075913.jpg)
बुटवल, माघ ५
बुटवल उपमहानगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरिएको छ। २०७५ साल असार ८ गते पुर्वअर्थमन्त्री एवं प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले शिलान्यास गरेको उक्त भवनको बुधवार पौडेलले नै भर्चुवल माध्यमबाट उद्घाटन गरेका हुन्।
भर्चुवल माध्यमबाट भवनको उद्घाटन गर्दै पुर्व अर्थमन्त्री पौडेलले सेवाग्राहीका कामलाई पहिलो प्राथमिकता राखेर अगाडी बढ्न सुझाव दिए। उनले नागरिकले नयाँ भवनबाट प्राप्त गर्ने सेवालाई पनि स्तरिय बनाउन आग्रह गरे।
भवन निर्माण गर्दा ५४ करोड ७८ लाख ४५ हजार ३ सय ८१ रुपैयाँ अनुमानित लागत राखिएकोमा विकोही, शिवशक्ति, बन्दन भगवती जेभी न्यू बानेश्वरले ४३ करोड ५३ लाख ४९ हजार ५ सय ७२ रुपैयाँ ८४ पैसामा भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो।
भवनको गत असार ६ गते भित्रै निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौताको म्याद राखिएको भएपनि कोभिड महामारीका कारण सात महिना ढिलोगरि भवन निर्माण सकिएको उपमहानगरपालिकाका योजना प्रमुख इन्जिनियर सुमन श्रेष्ठले जानकारी दिए।
२०३५ सालमा निर्माण गरिएको हाल उपमहानगरपालिका कार्यालय रहेको भवन २०७२ सालको भूकम्पले चर्किएपछि मर्मत गरेर कार्यालय संचालन भईरहेको थियो। भूकम्पले क्षतिग्रस्त भएको भवनमा कार्यालय संचालन गर्न जोखिम भएको भन्दै उपमहानगरपालिकामा जनप्रतिनिधी निर्वाचित भएर आएपछि अत्याधुनिक भवन निर्माणको प्रक्रिया अगाडी बढाईएको थियो।
बुधबार उद्घाटन गरिएको भवन करीब तीन बिगाहा क्षेत्रफलमा निर्माण गरिएको र यहि क्षेत्रमा आवश्यकताको आधारमा थप ६ वटा अन्य ब्लक समेत निर्माण गरिदै जाने उपमहानगरपालिकाले जनाएको छ।
गुरुयोजना अनुसार पहिलो चरणमा निर्माण गरिएको ‘ए ब्लक’ अर्थात् प्रमुख प्रशासनिक भवन बेसमेनसहित चार तलाको अत्याधुनिक रहेको छ। दुई अलग–अलग स्थानमा लिफ्ट र दुबैतर्फ सिँढी बनाईएको अण्डरग्राउण्ड सहितको नवनिर्मित भवनमा अण्डरग्राउण्डमा १ सय ६ वटा मोटरसाइकल, ३५ देखि ५० वटा सम्म कार पार्किङ गर्न मिल्ने गरि निर्माण गरिएको छ। भवनको बाहिर पनि छुट्टै सवारी साधन पार्किङ गर्न मिल्ने क्षेत्र छुट्टाईएको छ।
उपमहानगरपालिकाका ईन्जिनियर गौतम रौनियारका अनुसार भुईतल्लामा प्रतिक्षाकक्ष, बैंकको लागि काउण्टर, हेल्प डेस्क, नक्शा, योजना, राजश्व र भूमी व्यवस्था सम्बन्धि शाखा राखिएका छन्। पहिलो तल्लामा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, लेखा र प्रशासन शाखा राखिएको छ। त्यस्तै दोश्रो तल्लामा वातावरण, सामाजिक कल्याण, सूचना प्रविधि लगायतका शाखा राखिएको छ भने तेश्रो तल्लामा शिक्षा, युवा तथा खेलकुद शाखा र २ देखि ३ सय जना क्षमताको सभाहल राखिएको छ।
ईन्जिनियर रौनियारले चारवटै तल्लामा २०र२५ जना क्षमताका बैठक कक्षहरु निर्माण गरिएको जानकारी दिए। नवनिर्मित भवन निर्माणको काम सम्पन्न भई बुधवार उद्घाटन गरिएपनि अहिले फर्निचर व्यवस्थापन र ईन्टेरियरको काम भईरहेकोले फागुन ३ गते उपमहानगरपालिकाको स्थापना दिवससम्म सम्पूर्ण शाखाहरुको काम नयाँ भवनबाटै संचालन गरिने उनले बताए। २०१६ सालमा स्थापना भएको बुटवल नगरपालिकाले हरेक वर्ष विभिन्न रचनात्मक कार्यक्रमका साथ स्थापना दिवस मनाउँदै आएको छ।