![](https://ujyaalopost.com/wp-content/uploads/2022/07/chunab-nirbachan-adhikrit-e1659158375754.jpg)
आगामी संघीय र प्रदेश सभाको निर्वाचन २०७९ मंसिर ४ गते हुने पक्का भएको छ । उक्त मितिबारे पर्सि बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने बताइएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा ज्योतिष विद्यामा विश्वास गर्ने भएकाले र गठबन्धनका अन्य दलका नेताहरुसँगको परामर्शलगायत नागरिकता बिधेयक पास गर्न नसकिएकाले मिति घोषणा गर्न बाँकी थियो ।
निर्वाचन आयोगका पदाधिकारीले असार २१ गते दिउँसो ४ बजे बालुवाटारमा भएको प्रधानमन्त्रीसँगको भेटघाटमा मङ्सिर २ गते शुक्रबारका निम्ति मिति सिफारिस गरेका थिए । कात्तिक २७, ३० र मंसिर १२ गतेको चर्चा भए पनि अर्कै मितिमा निर्वाचन गर्न उपयुक्त हुने भन्दै सोहीबमोजिम सिफारिस गर्नेबारे आयोगका पदाधिकारीले प्रधानमन्त्रीलाई बताएका थिए ।
सरकारले कात्तिक ३० गतेको सम्भावना बताए पनि आयोग पदाधिकारीहरु उक्त मितिको लागि तयार देखिएनन् । प्रधानमन्त्री देउवाजस्तै आयोगका केही पदाधिकारी पनि ज्योतिषीमा विश्वास गर्ने भएकाले उनीहरुले मंसिर छुवाउने निधो गरेका थिए । सोहीबमोजिम मंसिर ४ गतेलाई सबै पक्षले उपयुक्त हुने भनी रोजेका हुन् ।