सभामुख भेट्न चिनियाँ राजदूतको टोली बिहानै निवासमा

प्रतिनिधिसभाको कार्यकाल सकिन केही दिनमात्र बाँकी रहँदा सभामुख अग्निप्रसाद सापकोटा विभिन्न पक्षीय भेटघाटमा व्यस्त देखिनुभएको छ । केही दिनयता सरकारका प्रतिनिधि,विदेशी कूटनीतिज्ञ,राजनीतिक दलका नेतालगायतसँग छलफल र संवाद गरिरहनुभएका उहाँले हिजो पनि दुई महत्वपूर्ण भेटघाट गर्नुभयो ।
सभामुख सापकोटाले काठमाडौँस्थित चिनियाँ राजदूत हौ यान्छीसँग हिजो बिहान झन्डै डेढ घण्टा छलफल गर्नुभयो । राजदूत यान्छीसहित तीन जनाको चिनियाँ टोली सभामुख भेट्न बिहान ९ बजे लैनचौरस्थित सभामुखको सरकारी निवास पुगेको थियो । उनीहरु साढे १० बजेतिर त्यहाँबाट निस्किएका थिए
हिजै गृहमन्त्री बालकृष्ण खाँणले पनि सभामुख सापकोटासँग भेटवार्ता गर्नुभएको छ । साँझ पाँचदेखि साढे पाँच बजेसम्म सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उहाँहरुबीच छोटो भेटवार्ता भएको बताइन्छ ।
समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगलाई बुझाएसँगै प्रतिनिधिसभा नरहने हुँदा असोज १ गतेसम्म मात्र संसद्को कार्यकाल बाँकी छ । त्यसको दुई दिनअघि भदौ २९ गते चिनियाँ समकक्षी लि चान्सुको नेपाल भ्रमण हुँदैछ । त्यस्तै, प्रतिनिधिसभामा दर्ता टीआरसीलगायतका अति महत्वपूर्ण विधेयक पारित गर्ने तयारी अघि बढिरहेको छ । यिनै सन्दर्भमा सक्रियतापूर्वक सरोकारवालाहरुसंग छलफल गरिरहनुभएका सभामुखको भेटघाट बाक्लिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation