
राप्रपा उपाध्यक्ष विक्रम पाण्डेविरुद्ध चितवनका नेता तथा कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने भएका छन् । टिकटको निम्ति मारामारपछि राप्रपा चितवनमा उत्पन्न चरम विवाद बढ्दै जाँदा दुई पक्षबीच मुठभेडसम्मको अवस्था देखिएको छ ।
विधि,प्रक्रिया र पद्धति मिचेर एकलौटी रुपमा पार्टी सञ्चालन गरेको तथा आफ्नो निर्माण कम्पनीमा कार्यरत कर्मचारी र निकटका व्यक्तिलाई काखी च्यापेको आरोप पाण्डेमाथि विगतदेखि नै लाग्दै आएको छ । त्यसमा आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिसको प्रक्रिया शुरु भएसँगै कलह थप चर्किएको हो ।
भोलि चितवनबाट केन्द्रीय सदस्यसहित सय जना पाण्डेविरुद्ध केन्द्रीय कार्यालयमा नाराबाजी र धर्ना दिन काठमाडौँ आउन लागेको बताइन्छ । विरोधी खेमालाई रोक्ने सिलसिलामा पाण्डे निकटले पार्टी विधानविपरित उम्मेदवार सिफारिसको निर्णय गरेको अर्को पक्षको आरोप छ । तर,पटक–पटक चुनाव लडिसकेका, पार्टीको केन्द्रीय उपाध्यक्ष रहेका र आर्थिक हिसाबलेसमेत सम्पन्न पाण्डेलाई त्यस्ता आरोपले नछुने भएपछि उनको समूहसमेत पेलेरै जाने रणनीतिअनुरुप वक्तव्यबाजीमा लागेको श्रोतको दावी छ ।
यतिबेला पाण्डे र इतर खेमाबीच चितवनमा सामाजिक सञ्जाल र विज्ञप्तिमा वाकयुद्ध चलिरहेको छ । दुवै पक्षले एकले अर्कालाई अवैधानिक करार गरिरहेका छन् । यसबाट पार्टीमा सर्वसम्मत उम्मेदवार केपी ओलीको समर्थनमा सांसद बन्ने पाण्डेको योजना भताभुङ्ग हुने अवस्था बनेको अर्को पक्षको बुझाइ छ ।
गत आमनिर्वाचनमा आफूनिकट कर्मचारी रिना गुरुङलाई प्रदेशसभामा समानुपातिकबाट सांसद सिफारिस गराएको आरोप लागेपछि ठेकेदारबाट नेता बनेका पाण्डे आलोचनाको केन्द्रमा परेका हुन् । गत स्थानीय निर्वाचनपछि भने उनी क्रमबद्ध रुपमा पार्टीभित्रै घेराबन्दीमा पर्न थालेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पराजित गराउने एमाले र अध्यक्ष केपी शर्मा ओलीको योजनासँगै एक पटक सांसदको लोगो लगाएर संसद भवन छिर्ने पाण्डेको चाहनाको बाधक राप्रपा स्वयम् बन्ने स्थिति बन्दै गएको छ ।