दशैंलाई सहज बनाउन पठाइएको बिशेष निर्देशनमा के छ?

आजदेखि शुरु भएको बडा दशैंलाई लक्षित गर्दै गृह मन्त्रालयले विभिन्न सुरक्षा नीति अघि सारेको छ । मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा गत शुक्रबार बसेको बैठकले १४ बुँदे निर्देशन जारी गर्ने निर्णय गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय,नेपाल प्रहरी,सशस्त्र प्रहरी बल,सडक विभाग,यातायात व्यवस्था विभाग,सबै जिल्ला प्रशासन कार्यालय,नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई पत्राचार गर्दै गृहले उक्त निर्णय कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ ।

गन्तव्यस्थलमा छिटो पुग्न तीब्र गतिमा गाडी गुडाउने प्रवृत्तिलाई निरुत्साहन गर्न नेपाल प्रहरी, यातायात व्यवस्था विभाग तथा यातायात व्यवसायीहरुको समन्वयमा राजमार्गमा स्थान पहिचान गरी टाइम कार्ड लागु गर्न,सवारी साधनको छतमा बसेर,झुण्डिएर यात्रा गर्न नदिन कडा अनुगमन गर्नुपर्ने भनिएको छ ।

त्यस्तै,हरेक सार्वजनिक सवारी साधनमा प्राथमिक उपचार सामग्री, प्रहरी हटलाइन नम्बरलगायत आवश्यक सूचना रहेको स्टिकर, दुर्घटना भएमा संकेत गर्ने साधन र स्यानिटाइजरको व्यवस्था मिलाउनुपर्ने छ । चालकले अस्वाभाविक किसिमले सवारी चलाएमा उजुरी गर्न सम्पर्क नम्बर सार्वजनिक गर्न र फोन उठाउन सबै प्रहरी युनिटलाई आवश्यक व्यवस्था मिलाउन आवश्यक निर्देशन दिनु भनिएको छ ।

मध्यम वा लामो दूरीमा चल्ने सवारी साधनको आधिकारिक बिक्रेता, ट्राफिक प्रहरी र यातायात व्यवसायीहरुको समन्वयमा उपत्यकाका मुख्य स्थानमा यान्त्रिक परीक्षण गर्ने व्यवस्था मिलाउन, सहज रुपमा सवारी साधन सञ्चालनका लागि महासंघको प्रत्येक प्रदेश र जिल्लामा सम्पर्क व्यक्ति तोकी सोको टेलिफोन नम्बरको जानकारी नेपाल प्रहरीलाई गराउन पनि निर्देशनमा उल्लेख छ ।

बिमा नभएका र मेकानिकल परीक्षण नभएका सवारी साधनलाई रुट परमिट नदिन,मादक पदार्थ र लागूऔषध प्रयोग गरे–नगरेको नियमित चेक गर्न,दुर्घटना न्यूनीकरणमा पूर्व सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, डिभिजन सडक कार्यालय, प्रदेश पूर्वाधार कार्यालय, यातायात कार्यालय तथा महासंघको प्रतिनिधित्वमा समिति गठन गरेर आवश्यक कार्य गर्न सुझाइएको छ ।

महासंघको समन्वयमा विद्यमान रिफ्रेसमेन्ट सेन्टरहरुलाई चालु हालतमा राख्ने व्यवस्था मिलाउन, दुर्घटनापछि हवाई उद्धार गर्नुपर्ने भएमा महासंघको समन्वयमा खर्च व्यहोर्ने गरी साधन परिचालन गर्न, जिल्लाका बजार अनुगमन समितिमार्फत राजमार्गहरुमा रहेका होटलका खाना परीक्षण गर्न र समयमा सुधार नगरे कानूनअनुसार कारबाही गर्न पनि गृहले पत्रमा कडा निर्देशन दिएको छ ।

बिग्रेका तथा तत्काल मर्मत गर्नुपर्ने सडकलाई तत्काल सञ्चालन गर्न प्रदेश पूर्वाधार कार्यालयहरुलाई सडक विभागले अनुरोध गर्नुपर्ने भनिएको छ । लामो दूरीका सवारी साधनमा दुई वटा चालकको व्यवस्था कार्यान्वयन गर्न प्रहरीले अनुगमन गर्ने भनिएको छ । सवारी दुर्घटनालगत्तै तत्काल उद्धारका निम्ति मातहतका युनिटलाई निर्देशन दिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई भनिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation