मानवअधिकार आयोग सँधैँ खुला

दशैं, तिहार तथा छठ पर्वको बिदामा समेत पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय खुला रहने भएको छ । आयोगले केन्द्रीय, प्रदेश तथा शाखा कार्यालयहरु चाडपर्वको बेलामासमेत बन्द नगर्ने निर्णय गरेको बताइएको छ ।

आज विज्ञप्ति जारी गर्दै आयोगले बिदाका दिनमा बिहान ११ देखि दिँउसो २ बजेसम्म कार्यालय खुला रहने जानकारी गराएको छ । आमनागरिकको मानवअधिकार संरक्षणको कार्यलाई ध्यानमा राखेर विगतमाझैं कार्यालय खुला रहने आयोगले जनाएको छ ।

‘आमनागरिकको मानवअधिकारको संरक्षण कार्यलाई ध्यानमा राखी आयोगले विगतझैं यस वर्षको बिदाका दिनमा पनि कार्यालय खुला रहने व्यवस्था मिलाएको हो’, विज्ञप्तिमा भनिएको छ । उक्त अवधिमा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनाको उजुरी लिने तथा आवश्यकतानुसार गम्भीर प्रकृतिका घटनामा आकस्मिक अनुगमन गर्ने बताइएको छ ।
त्यस्तै, बजार अनुगमन तथा मँहगी नियन्त्रण गर्न, शान्ति सुरक्षाको स्थिति थप मजबुत बनाउन, अमनचयन खल्बलाउने अवाञ्छित क्रियाकलाप रोक्नेतर्फ प्रभावकारी कदम चल्न तीन वटा तहका सरकार, सुरक्षा निकाय, निजी क्षेत्रलगायतलाई आयोगले आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation