छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । प्युठानको प्यूठान नगरपालिका–५ पूर्णगाउँस्थित सडकमा लु।१ ज ३७०७ नम्बरको फोर्स गाडी गएराति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गाडीमा सवार प्युठान नगरपालिका–५ पूर्णगाउँ बस्ने ५० वर्षीया मैमा घर्तीसहित ३ जना छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य १२ जनाको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचार भइरहेको छ
गाडीका सहचालकलाई नियन्त्रणमा लिनुका साथै हाल फरार गाडीका चालकको प्रहरीले खोजी गरिरहेको छ । महोत्तरीको महोत्तरी गाउँपालिका–३ र ४ को सिमास्थित रानी रतवारा र मरैको बीचमा बिआर ३० एएफ २०६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरी गाउँपालिका–६ बस्ने २२ वर्षीय शंकर पासवान छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो । चितवनको राप्ती नगरपालिका–४ लक्ष्मी नारायण चोकमा ना।२ ख ८५२१ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हाल पहिचान नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष छन् । उनको मंगलबार राति मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङको बुढिगंगा गाउँपालिका–२ ढार्डस्थित सडकमा को।७ प ८२०७ नम्बरको मोटरसाइकललाई प्रदेश १–०२–०४२प १९३७ नम्बरको मोटरसाइकले मंगलबार साँझ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रदेश १–०२–०४२प १९३७ नम्बरको मोटरसाइकल चालक सुनसरी दुहवी नगरपालिका–१० बस्ने ३८ वर्षीय रिकेशराज ढकाल छन् ।
दुर्घटना हुँदा गम्भीर घाइते भएका रिकेशराजको बिराट मेडिकल कलेज टिचिङ अस्पताल गंगाचौकमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार को।७ प ८२०७ नम्बरको मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation