सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३ चक्रपथ नारायणगोपाल चोकमा ना।८ ख १८४१ नम्बरको ट्रकले बा।प्र ०२–०३२ प २२२७ नम्बरको स्कुटरलाई बुधबार ठक्कर दिँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक कास्की मादी गाउँपालिका–९ बस्ने ४७ वर्षीय बेल बहादुर राना मगर र स्कुटरमा सवार सोही ठाउँ बस्ने ४१ वर्षीया कल्पना राना मगरको शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाराको पचौरौता नगरपालिका–८ नहरको बाटोमा प्र।२–०३००१ त ४९९१ नम्बरको ट्रयाक्टर बुधबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टर चालक स्वर्ण गाउँपालिका–३ बकतवा बस्ने २७ वर्षीय जवाहीर सहनी छन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।
यसैगरी बाराको महागढीमाई नगरपालिका–२ पत्रहटी चोकमा प्र।३–०२–०११ प ८३७४ नम्बरको मोटरसाइकल गएराति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार पर्सा धोबिनी गाउँपालिका–३ बस्ने ४० वर्षीय बिन्देश्वर सहनी छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको एनएमसी अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । हुम्लाको नाम्खा गाउँपालिका–५ बुकिबाल्नास्थित सडकमा बा।१८ च १४१७ नम्बरको बोलेरो जिप बुधबार दुर्घटना हुँदा जिपमा सवार सोही गाउँपालिका–५ बस्ने २८ वर्षीय कुङगा तेन्जिन तामाङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका जिपका चालक समेत २ जनाको जिल्ला अस्पताल सिमकोट हुम्लामा उपचार भइरहेको छ ।
मकवानपुरको बकैया गाउँपालिका–४ छतिवनस्थित सडकमा बा।प्र ०३–००१ त ३४१ नम्बरको ट्रयाक्टर बुधबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ मृत्यु हुनेमा ट्रयाक्टरमा सवार बागमती गाउँपालिका–५ बगेरी बस्ने २७ वर्षीय सत्यमान घिसिङ छन् ।
दुर्घटनामा घाइते भएका ट्रयाक्टरमा सवार एक जनालाई हेटौंडा अस्पताल हुँदै थप उपचारको लागि चुरेहिल अस्पताल हेटौंडा पठाइएको छ । ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दैलेखको भैरवी गाउँपालिका–५ गिताचौरस्थित सडकमा क।प्र।०२००१ त ०३०७ नम्बरको ट्रयाक्टरको ठक्करबाट उक जना पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५३ वर्षीय लाल बहादुर शाही छन् । उनको बुधबार राति मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको दुल्लु अस्पताल दुल्लुमा उपचारको क्रममा मृत्यु हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
बाँकेको कोहलपुर नगरपालिका–१३ स्थित सडकमा भे।९ प ७१३० नम्बरको मोटरसाइकल गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक बैजनाथ गाउँपालिका–५ बस्ने ३० वर्षीय गणेश योगीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनालाई सोही अस्पतालमा हुँदै थप उपचारको लागि भारतको लखनउ रिफर गरिएको छ । दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।–न्युज कारखाना

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation