बालिकाको हत्या आरोपमा झारफुक गर्ने सैनामैनाकि झाँक्री पक्राउ

बुटवल। इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीले सैनामैना नगरपालिका १० फूलवारीकी १४ बर्षीया सीता ज्ञवालीको शारीरिक यातनाका कारण मृत्यु भएको विषयमा अनुसन्धान सुरु भएको छ ।

सुरुमा घाँटी र कान दुखेपछि ज्वरो आएर स्थानीय सालझण्डीको एक स्थानीय क्लिनिकमा उपचार गराई घरमै बसेकी सीतालाई मातासँग देखाउन भन्दै अभिभावकले सैनामैना १० बेम्टेनीकी २२ बर्षीया माता सोनिया रेश्मी कहाँ शनिवार साँझ लिएर गएका थिए ।

माता भनिने सोनियाले धामी झाँक्री गरी बोक्सी बकाउने नाममा निर्मम शारीरिक यातना दिएकी थिइन । त्यसपछि उनको शनिबार करिब साढे ९ बजे मृत्यु भएको थियो । लगातार चार–पाँच दिनदेखि बिरामी परेकी सीताको मृत्यु शारीरिक यातनाले भएको स्थानीयको भनाइ छ ।

उनको अन्तिम संस्कार गरेपछि घटना सामसुम भएको थियो । आइतबार साँझ सो घटनाको भिडियो सार्वजनिक भएपछि सीतालाई निर्मम शारीरिक यातना दिएर मृत्यु भएको स्थानीयलाई थाहा भएको थियो ।

भिडियोमा माता भनिने सोनियाले सीतालाई लछारपछार गरेको, शरीरमा पानी खन्याएको, कपालमा समातेर घिसारेको, जबरजस्ती पानी खुवाएको लगायतका निर्मम तरिकाको यातना गरेको देखिन्छ ।

इलाका प्रहरी कार्यालय सालझण्डीले घटनाको विषयमा जानकारी पाएपछि माता भनिने सोनिया रेश्मीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ । प्रहरीले मलामी गएका स्थानीय २३ जना गाउँलेलाई समेत नियन्त्रणमा लिएर सोमबार सोधपुछ गरेको छ ।

इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले माता भनिने सोनिया रेश्मीको शारीरिक यातनाबाटै बालिकको मृत्यु भएको देखिएको बताउँदै माता भनिने सोनियालाई हिरासतमा राखेर जिल्ला अदालत रुपन्देहीबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation