बुटवलमा आज दुई बजे संगीत अभियात्रा, चर्चित जनवादी कलाकारहरुले प्रस्तुती दिने

बुटवल चैत्र १३, धनगढीबाट सुरु भएको राष्ट्रका लागि संगीत अभियात्रा आइतबार बुटवल आइपुगेको छ । आज चैत्र १३ गते बुटवल कालिकानगरको रोज पार्टी प्यालेसमा हुने कार्यक्रमका लागि टोली बुटवल आएको हो ।
आइतबार बुटवलमा पत्रकार सम्मेलन गरि अभियानको बारेमा जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा बोल्दै बरिष्ट जनगायक जीवन शर्माले राज्यले जनकलाकारहरुलाई सम्मान गरोस् नगरोस् आँफुहरु राष्ट्रका लागि लडिरहने बताएका छन् । उनले राष्ट्रलाई अफ्ठ्यारो पर्दा र जनतालाई अफ्ठ्यारो पर्दा सधैँ जनकलाकार अग्रमोर्चामा लड्ने बताउँदै आम जनताको मायामा आँफुहरु हुर्किएको बताए । सधैँ जनताका पिरमर्काका गीतसंगीत लिएर गाउँबस्तिमा हिँड्ने जनकलाकार देशका मुख्य सहरहरुमा कार्यक्रम गरिरहँदा उद्योगी व्यवसायीहरुको समेत साथ सहयोग पाएकोमा खुसी व्यक्त गर्दै उनले भने हाम्रा गीतसंगीतले उनीहरुका पीडा बोलेको छ उद्योगी व्यवसायीहरुलाई अहिले अफ्ठ्यारो परेको छ राज्यले संरक्षण गर्न नसके मुलुक दुर्घटनामा जान्छ ।
यस्तै जनवादी गीतकार मणी थापाले कम्युनिष्ट बहुमत भएको मुलुकमा जनकलाकारहरु ओझेलमा पर्नु दुखद भएको बताउँदै हरेक राजनीतिक आन्दोलनलाई पूर्णता दिन आर्थिक क्रान्ति र आर्थिक क्रान्तिलाई पूर्णता दिन सांस्कृतिक रुपान्तरण जरुरी भएको बताएका छन् । उनले नेता र जनता बिचको खाडललाई पुर्न र जनआवाजलाई मुखरित गर्नका लागि पनि जनसंगीत अभियात्रा संचालन गरेको बताए ।
यस्तै जनकलाकार चिरन सीले कम्युनिष्ट जनमत र जनअपेक्षालाई संस्थागत गर्न जनसंगीत अभियान संचालन गरेको र यसले राजनैतिक पार्टीको नेतृत्वलाई समेत खबरदारी गर्ने बताए । उनले सबै वामपन्थि पार्टीका जनकलाकारहरू एक ठाउँमा भएर विगत लामो समयदेखि सहकार्य गरेर विविध कार्यक्रम गर्दै आएको र अहिले यो अभियात्रामार्फत छुट्टै सन्देश दिने बताए।
जनकलाकारहरु जीवन शर्मा, मणी थापा, चिरन सी, उदय श्रेष्ठ, कर्ण बिद्रोही, निलिमा पुन, प्रगति महरा, मोहित श्रेष्ठ, नारायण शर्मा, कुस्मिता दर्लामी, उदय रिजाल, सन्ध्या मगर, कविता पुन, लक्ष्मण पाख्रिन, अनु शर्मा, निशा बुढामगर लगायतका जनपक्षीय श्रष्टा, जनगायक, लेखक, गीतकार, जनसंगीतकार नृत्यकारहरु सहितको टिमले देशका मुख्य शहरहरुमा विविध प्रस्तुति सहितका कार्यक्रम गर्दै आएको छ। जनवादी गीत संगित एवं नृत्य प्रस्तुत गर्ने कार्यक्रममा प्रवेश शुल्क भने नराखिएको आयोजकले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation