
बुटवल, चैत्र २३ । शान्ति र संवृद्धिका लागि खेलकुद भन्ने मूल नारासहित बुद्ध जन्मस्थलमा सम्पन्न लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी र नेपाल प्रहरीकी राजपुरा पछाइ प्रथम भएका छन्।
मदन भण्डारी स्पोट्र्स एकेडेमीले अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा बिहीबार लुम्बिनीमा हाफ् म्याराथन प्रतियोगिता आयोजना गरेको थियो। प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका अधिकारीले २१ किलोमिटरको दुरी १ घण्टा ६ मिनेट २ सेकेन्डमा पार गर्दै पुरुषतर्फ प्रथम बनेका हुन्।
त्यस्तै महिलातर्फ नेपाल प्रहरीकी पछाईले सोहि दुरी १ घण्टा २४ मिनेट २ सेकेन्डमा पार गर्दै प्रथम बनेकी हुन्। प्रतियोगितामा पुरुषतर्फ प्रथम भएका अधिकारीले १ लाख ५० हजार तथा महिलातर्फ प्रथम भएकी पछाइले १ लाख ५१ हजार रुपैयां सहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेका छन्।
प्रतियोगितामा पुरुषतर्फ एपीएफका गोपीचन्द्र पारखीले १ घण्टा ६ मिनेट ४६ सेकेन्डमा दुरी पार गर्दै दोश्रो भए भने त्रिभुवन आर्मीका मुकेश पालले १ घन्टा ७ मिनेट १५ सेकेन्डमा दुरी पार गर्दै तेश्रो भए।
पुरुषतर्फ त्रिभुवन आर्मीकै नरेन्द्र रावलले १ घन्टा ७ मिनेट १५ सेकेन्डमा दुरी पार गर्दै चौथो भए। त्यस्तै महिलातर्फ एपीएफका विन्द्रा धान्के श्रेष्ठले १ घण्टा २६ मिनेट ७ सेकेन्डमा दुरी पार गर्दै दोश्रो भईन् भने नेपाल प्रहरीका रेखा विष्टले १ घन्टा २६ मिनेट ११ सेकेन्डमा दुरी पार गर्दै तेश्रो र र त्रिभुवन आर्मीकी पूर्णलक्ष्मीले १ घन्टा २८ मिनेट ३३ सेकेन्डमा दुरी पार गर्दै चौथो भईन्।
महिला र पुरुष दुवैतर्फ दोश्रो हुनेले ७५ हजार, तेश्रो हुनेले ५० हजार र चौथो हुनेले ३० हजार रुपैया नगद पुरस्कार प्राप्त गरेका छन्। त्यस्तै दुवै विधातर्फ पाचौंले २० हजार, छैटौले १० हजार, सातौंले ७ हजार तथा आठौं, नवौं र दशौंले ५, ५ हजार नगद पुरस्कार प्राप्त गरेका छन्।
प्रतियोगिताका विजेतालाई अपरान्ह आयोजना हुने मूल समारोहमा एकेडेमीका संरक्षक समेत रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको छ।
यसअघि बुद्ध जन्मस्थल लुम्बिनीमा रहेको शान्ति दीपबाट मसाल बालेर ओलम्पिक कोच चन्द्र बहादुर घले र बिमला रानालाई हस्तान्तरण गर्दै ओलीले म्याराथनको उद्घाटन गरेका थिए।
मायादेवी मन्दिर प्रवेशद्वारबाट सुरु भएको म्याराथनका सहभागिहरुले पर्साचौकबाट पुन महिलबार हुंदै लुम्बिनीको २ फन्का लगाएर २१ किलोमिटरको दुरी पार गरेका थिए। म्याराथनमा ओलीले समेत केहिबेर दौडिएर सहभागिता जनाएका थिए।