
बुटवल । रूपन्देहीको देवदहमा हावाहुरीले रुख ढलेर च्यापिदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवदह नगरपालिका–१० का ७१ वर्षीय मीन बहादुर दमाई रहेको वडा प्रहरी कार्यालय रामनगर बुटवलका प्रमुख महेश पाठकले जानकारी दिए ।
शनिबार बेलुका ८ बजेको समयमा खाना खाइरहेको बेला सुकेको रुख घरमाथि ढलेर दमाईको घटनास्थलमै ज्यान गएको हो । रुख ढले सँगै खाना पकाउने सिलिन्डर समेत विस्फोट भएको थियो । उक्त घटनामा मृतक मीन बहादुरकी ५१ वर्षीय श्रीमती लीला कुमारी कामी घाइते भएकी छन् ।
उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको प्रहरीले जनाएको छ । ग्यास सिलिन्डर बिस्फोट हुँदा भान्सा घरमा आगो लागेर क्षति समेत पुगेको छ ।
देवदह नगरपालिका र बुटवल उपमहानगरपालिका बाट गएको दमकलको सहयोगमा आगो नियन्त्रण गरिएको देवदह नगर कार्यपालिका सदस्य कुमार दमाईले जानकारी दिए