
विनोद खनाल, बुटवल
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न.१ र २ मा रहेको शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र वनबाटिकाको शुक्रवार सम्पन्न चौथो अधिवेशनमा सत्ता गठबन्धनका उमेदवारलाई पराजित गर्दै विप्लव नेतृत्व नेकपा समर्थित स्वतन्त्र उमेदवार खिमलाल पाण्डे निर्वाचित भएका छन् ।
स्वतन्त्र उम्मेदवार दिएका खिमलाल पाण्डेले एमाले, काँग्रेस गठबन्धनबाट अध्यक्षमा भिडेका इन्जिनियर किरण खरेललाई १३५ को फराकिलो मतले पछाडि पार्दै बिजयी भएका हुन् । खसेको कुल मत ६६१ मध्ये पाण्डेले ३६९ मत प्राप्त गरेका थिए भने खरेलले २३४ मात्र प्राप्त गरेका थिए । अर्का अध्यक्ष पदकै उमेदवार टीकादेवी आलेले जम्मा ३९ मत प्राप्त गरेकि थिईन ।
अध्यक्षमा स्वतन्त्र उम्मेदवार खिमलाल पाण्डे र एमाले-काँग्रेस गठबन्धनबाट इन्जिनियर किरण खरेलको प्रतिष्पर्धात्मक चुनावी सरगर्मी चलेको थियो । वनबाटिकाको स्थापनाकालदेखि नै योगदान दिंदै आएका पाण्डे र इन्जिनियर क्षेत्रबाट आएका एमालेका कार्यकर्तासमेत रहेका खरेलबिच कडा चुनावी टकराब चलेपनि स्वतन्त्रबाट पाण्डेले सत्ता गठबन्धनको वलियो संगठनलाई उछिन्दै अध्यक्ष पदमा लोकप्रिय मतले विजयी भएका छन् ।
यस्तै गठबन्धनबाट उपाध्यक्ष पदमा मिनप्रसाद देवकोटा ३७८ मत प्राप्त गरी बिजयी भएका छन भने सचिवमा स्वतन्त्रबाट बिदुर केसी ३८२ मत ल्याई बिजयी भए भने कोषाध्यक्ष गठबन्धनका मनिराम भट्टराई ३८५ मत ल्याई बिजयी भएका छन् । अन्यपदमा भने मिश्रित परिणाम आएको छ ।
शुक्रबार विहान आठ बजेदेखि शुरु भएको मतदान दिउँसो पौने दुईबजे सकिएको थियो भने २ बजेबाट सुरुभएको मतगणना राति ९ बजे सकिएको थियो ।
बनबाटिकाको आजीवन र साधारण सदस्य गरी कुल ७ सय ७५ जनामध्ये ६ सय ६१ जनाले मतदान गरेका थिए भने १ सय १४ जनाले भोट हाल्न आएका थिएनन् ।