लुम्बिनी सांस्कृतिक नगरपालिका र मोरङको लेटाङ नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका र मोरङको लेटाङ नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । दुई पालिकाबीच आपसी सम्वन्ध स्थापना तथा विस्तार र अनुभव आदानप्रदान गर्ने उद्देश्यसहित भगिनी सम्बन्ध स्थापना भएको हो ।

भगिनी सम्वन्ध स्थापना गर्न लुम्बिनी सांस्कृतिक नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा बोल्दै लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्रकुमार लावतीले हामी नेपालीले विकास निर्माणलाई मात्रै चासो दिने गरेको बताउँदै तर त्यो भन्दा पनि संस्कार, संस्कृति, भावना र आपसी सम्वन्ध बलियो बनाएर मन जोड्ने कुरा बढी महत्वपूर्ण हुने धारणा राख्नुभयो । उहाँले विकास अस्थायी हुन सक्छ तर मन जोड्ने कुरा धेरै महत्वपूर्ण हुने भएकोले भगिनी सम्बन्धले आपसी सम्वन्धलाई अझै नजिक वनाउने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमानले बुद्ध लुम्बिनीमा जन्मेको भएपनि भीड भने चीनमा लाग्ने गरेको बताउँदै चीन घुम्दा स्वर्ग पुगेको अनुभूति भएको बताउनुभयो । उहाँले लुम्बिनीलाई चिटक्क र सफा सहरको रुपमा विकास गर्न आफूहरु लागिरहेको बताउँदै आईतबार दुई पालिकाबीच भएको भगिनी सम्वन्ध स्थापना सधैका लागि हो भन्नुभयो ।

कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले सांस्कृतिक नगरको रुपमा देशको एकमात्रै पालिका लुम्बिनी सांस्कृतिक नगरपालिका रहेको बताउँदै लुम्बिनीको सांस्कृतिक पहिचान बढाउन आफूहरुले काम गरिरहेको बताउनुभयो । उहाँले प्रत्येक नेपालीले जीवनमा एकपटक लुम्बिनी टेक्ने वातावरण वनाउनु पर्नेमा जोड दिनुभयो ।

त्यसैगरी दुई पालिकाबीच भएको भगिनी सम्बन्धको विषयमा लेटाङ नगरपालिका वडा नं. २ का वडा अध्यक्ष तेजप्रसाद तिमिल्सिनाले जानकारी दिनुभएको थियो । उहाँले दुई पालिकाबीच १० वटा बुँदामा सहकार्य गरि अघि बढ्ने सहमति भएको बताउनुभयो ।

भगिनी सम्बन्ध स्थापना कार्यक्रममा दुई पालिकाका जनप्रतिनिधि, कर्मचारी लगायत लुम्बिनीका स्थानीय समाजसेवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation