
रमेश गैरे, सैनामैना, भदौ ३०। सैनामैनाको एक सहकारीले महिलाहरूलाई सहकारी जागरण सिर्जना गर्ने उद्देश्यले तीज गीत प्रतियोगिता गरेको छ । हिन्दु नेपाली नारीहरूको महान् पर्व हरितालिका तिजको अवसरमा सैनामैना १०, सालझण्डी बजारमा युगल बचत तथा ऋण सहकारी संस्थाले तीज गीत प्रतियोगिता गरेको हो ।
सैनामैना स्थित सालझण्डी बजारमा भएको प्रतियोगितामा सैनामैना नगरपालिका १० र ११ वडा नम्बर भित्रका ११ वटा आमा समुहहरुले प्रतिस्पर्धा गरेका थिए । जसमा पारिजात आमा समूह प्रथम, सालझण्डि आमा समूह द्वितिय, न्यु कन्चन आमा समुह तृतिय र सागर आमा समूह सान्वना भएका छन् । प्रतियोगितामा निर्त्यमा उत्कृष्ट दुर्गा आमा समूह, शब्दमा उत्कृष्ट सुन्दर आमा समूह, लयमा उत्कृष्ट स्वास्थ ज्योती आमा समूहलाई नगद, प्रमाणपत्र तथा प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ ।
यस सहकारीले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत हिन्दु संस्कृतिको संरक्षण र संवर्द्धन गरी महिलाहरूलाई थप सहकारी जागरण सिर्जना गर्ने उद्देश्यले तीज गीत प्रतियोगिताको आयोजना गरिएको संस्थाका अध्यक्ष शिव घिमिरेले बताउनुभयो । उहाँले सहकारीसँग जोडिन, सहकारीको जागरण गराउन यो कार्यक्रमले सहयोग पुर्याएको समेत अध्यक्ष घिमिरेले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि सैनामैना नगरपालिका उपप्रमुख बिना राना, सैनामैना वडा नम्बर १० का अध्यक्ष कृष्ण घिमिरे, ११ का वडा अध्यक्ष रामु भुसाल लगायतले शुभकामाना मन्तव्य राख्नुभएको थियो । निर्णायक मंडलमा संयोजक नारायण प्रसाद भुषाल रहनुभएको थियो ।