
नेपाल रेडक्रस सोसाईटी र स्वीस रेडक्रसको लागत साझेदारीमा संचालित सहरी पूर्व तयारी तथा आपतकालीन प्रतिकार्य प्रवर्धन (सुपर) परियोजना अन्तरगत तातो हावाको लहर (लु) बाट बच्न पूर्व तयारी स्वरुप च्याम्पियनहरुका लागि प्राथमिक उपचार सम्वन्धि दुई दिने तालिम आईतबार सम्पन्न भयो ।
सैनामैनाको बाबरी पार्टी प्यालेसमा भएको तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले बढ्दो वातावरणीय विनासका कारण तापक्रममा बृद्धि भैरहेको बताउँदै तापक्रम न्यूनीकरण कसरी गर्ने भन्ने विषयमा सवैको चासो र ध्यान जानुपर्ने बताउनुभयो ।
उहाँले ४० डिग्री तापक्रम हुँदा पनि ५० डिग्रीको अवस्था महसुस भैरहेको भन्दै यसकै कारण बाहिर निस्कन नसक्ने अवस्थाका भैरहेकोले अव तापक्रम व्यवस्थापनको विषयमा सोच्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो ।
तालिममा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश अध्यक्ष लाल प्रसाद पङेनी( कृष्ण ), सैनामैना नगर अस्पतालका डाक्टर अभिषेक खरेल, नेपाल रेडक्रसबाट विपद व्यवस्थापन अधिकृत तिर्थ पाण्डे, नवलपरासीका परियोजना संयोजक अनुप खड्का र सैनामैना नगरपालिकाका जनस्वास्थ्य अधिकृत हेमराज पन्थीले प्रशिक्षण दिनुभएको थियो ।
नेपाल रेडक्रस सोसाइटीका रुपन्देही जिल्ला अध्यक्ष रामचन्द अर्यालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । दुई दिने तालिममा सैनामैनाका २४ जना स्वयंसेवकहरुको सहभागिता रहेको थियो ।