
सैनामैना – भाद्र ७ । सैनामैना नगरपालिकाको बजार क्षेत्र र घर घरमा थुप्रिएको फोहोर अझै उठेको छैन। नगरपालिका र वडा नम्बर ९ का स्थानीय बीच फोहोर फाल्ने स्थानकाबारेमा विवाद हुँदा ५ दिनदेखि फोहोरको डंगुर थुप्रिएर नगर र घर दुर्गन्धित हुने अवस्था बनेको छ ।
हिन्दु नारिहरुको महान चाड हरितालिका तिजको मुखैमा नगरपालिकाको फोहोर ५ दिन देखि सङ्कलन नहुदा नगर नै दुर्गन्धित हुने खतरा बढेको हो । तिजमा माइत आउने चेलिले माइतिगाउ दुर्गन्धित भएको सन्देश बोकेर घर फर्कदा नगरको प्रतिस्ठामा कस्तो असर पर्ला ?
सैनामैना नगरपालिका–९ पिपलडाडा स्थित रहेको फोहोर भण्डारण केन्द्रमा वडावासीले फोहोर फाल्न रोक लगाएपछि नगरपालिकाले नगरको फोहोर उठाउन छोडेको हो। यहि भाद्र २ गते फोहोर फाल्ने जिम्मा पाएको सुन्दर नेपाल प्रालीका सरसफाई कर्मचारी फोहोर फाल्न जाँदा स्थानीयले अवरोध गरेका थिए। त्यहाँका स्थानीयले यहाँ फालिएको फोहोरले आफूलाई समस्या भएको भन्दै अवरोध गरेका थिए। त्यही क्रममा कर्मचारी र स्थानीयबीच भनाभन समेत भएको थियो।
फाेहोरको कहर सहन नसकेर वडावासी बिरोधमा उत्रन बाध्य बनेका छन्। त्यो बेला वडावासीलाई झुक्याएर, लोभ्याएर, धम्काएर कर्मचारीतन्त्र र जनप्रतिनिधिले यहाँ फोहोरमैला फाल्ने डम्पिङसाइड बनाएको स्थानिय बताउछन ।
स्थानीयले बस्ती नजिकै फोहोर भण्डारण गर्न रोकेपछि नगरका सडक, नाला तथा गल्लीमा फोहोर थुप्रिएर दुर्गन्ध फैलिएको थालेको छ। सैनामैनामा दैनिक ९ देखि १५ टन फोहोर उत्पन्न हुने फोहोर ब्यबस्थापनका म्यानेजर सुशील भण्डारीले जानकारी दिए ।