
सैनामैना, भदौ १५ । पश्चिम् तराईका रूपन्देही, पश्चिम नवलपरासी र कपिलवस्तु जिल्लाका थारु समुदायले मनाउने ‘बडकी अतवारी’ पर्व आईतबार धुमधामका साथ मनाएका छन । बडकी अतवारीमा थारु समुदायले भीम भगवानको पूजा गर्छन् भने सूर्यको दर्शन गर्छन् । भीम जस्तै बलवान अर्थात् कहिल्यै पनि कुनै पनि प्रकारको रोग नलागोस् भनेर भीम भगवानको पूजा गर्ने चलन थारु समुदायमा छ ।
त्यसका साथै यो पर्वमा छोरी चेली, दिदी बहिनी तथा भाञ्जाभाञ्जी बोलाएर चिनी रोटी खाने र खुवाउने वर्षौदेखिको परम्परा छ ।
त्यसैगरी सैनामैनामा समेत बडकी अतबारी पर्व आईतबार धुमधामका साथ मनाइएको छ ।
सैनामैनामा आयोजित अतबारी पर्व तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले पहिले पहिले थारु समुदायको बस्ती रहेको क्षेत्रमा पहिले विकास शून्य रहेको बताउँदै अहिले थारु गाउँको बिकासमा नगरपालिकाले ध्यान दिएको बताउनुभयो । उहाँले थारु गाउँको विकासकै लागि उज्यालो थारु गाउँ अभियान सुरु गरेको बताउँदै त्यसले थारु गाउँको मुहारमा परिवर्तन आएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा थारु कल्याणकारी सभाका केन्द्रिय सदस्य रामबली चौधरीले थारू समुदायले अतवारी पर्वलाई संस्कृति संरक्षणको अवसरको रुपमा मनाउँदै गरेको बताउनुभयो । बडकी अतवारीको अवसरमा आज रूपन्देहीको अधिकांश पालिकाहरुले सार्वजनिक बिदा दिएका छन् ।
उता दाङ, बाँके र बर्दिया क्षेत्रका थारु समुदायले बडकी अतवारी गत हप्ता मनाइसकेका छन् ।
थारु कल्याणकारी सभा सैनामैनाका अध्यक्ष दुलबहादुर थारुको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपसभापति सन्तराम थारुले गर्नुभएको थियो ।