सैनामैनाबाट ब्राउनसुगर सहित दुई जना पक्राउ

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ७ आमीस्थितमा लागुऔषध ब्राउन सुगर ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले अन्दाजी राति २०ः४० बजेको समयमा सैनामैना–७ निवासी ३७ वर्षीय मनोज थापा मगरको घरमा खानतलासी गर्दा उनको कोठामा शङ्कास्पद अवस्थामा जिल्ला रुपन्देही गैडहवा गाउँपालिका वडा नं. ९ निवासी ३० वर्षीय अमृत रानासमेत फेला पारेको थियो।

प्रहरीले चेकजाँच गर्ने क्रममा मनोज थापा मगरले हातमा कालो प्लास्टिकमा बेरी लुकाई छिपाइ राखेको लागुऔषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ बरामद गरेको जनाएको छ। उक्त पदार्थ प्लास्टिकसहित तौल गर्दा २ ग्राम ७९० मिलिग्राम र प्लास्टिकबिना २ ग्राम ५८० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी, मनोज थापा मगरको साथबाट लाइटेल कम्पनीको सादा किप्याड मोबाइल १ थान, कालो पर्समा रहेको नगद रु. ४ हजार र सवारी अनुमति पत्र बरामद गरिएको छ। साथै अमृत रानाको साथबाट SMADAL कम्पनीको सादा किप्याड मोबाइल १ थान र नगद रु. १० हजारसमेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको र रुपन्देही जिल्ला अदालतबाट म्याद थपसमेत भइसकेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation