नेकपा गैडहवा र कञ्चन गाउँ कमिटीद्वारा निर्वाचन परिचालन समिति गठन

लुम्बिनी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रूपन्देही क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार वकिल मुसलमानलाई विजयी गराउने उद्देश्यले गैडहवा र कञ्चन गाउँ कमिटीले निर्वाचन परिचालन समिति गठन गरेका छन् ।

सोमबार बसेको दुवै गाउँ कमिटीको विस्तारित बैठकले एक पालिकामा ५०१ जना सदस्य रहने गरी छुट्टा छुट्टै निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको हो । बैठकबाट कञ्चन गाउँ कमिटीको संयोजकमा विनोद कुमार पुन र सह–संयोजकमा रामबहादुर बिक चयन भएका छन् भने गैडहवा गाउँ कमिटीको संयोजकमा दानबहादुर घर्ती, सह–संयोजकमा कल्लु प्रसाद थारु र पुष्परतन पाण्डे चयन भएको निर्वाचन परिचालन समितिका क्षेत्रीय संयोजक हिराबहादुर रोकाले जानकारी दिए ।

विस्तारित बैठकलाई सम्बोधन गर्दै नेकपा रूपन्देही क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार वकिल मुसलमानले जनताको साथ र सहभागितामा क्षेत्रको समग्र विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । आफू यस क्षेत्रको अवस्था र आवश्यकताबारे राम्रोसँग जानकार रहेको उल्लेख गर्दै उनले सिँचाइ परियोजना विस्तार, बाटोघाटो निर्माण, लालपुर्जा वितरणलगायतका विकासका कामहरू जनतालाई साथमा लिएर अघि बढाइने बताए ।

बैठकमा नेकपा लुम्बिनी प्रदेश सदस्य बराराम बस्याल, हस्तबहादुर सावर तथा पार्टी नेताहरू मौसमी थापा, रोमनाथ न्यौपाने र सागर पुनले निर्वाचनमा पार्टीका सबै तहका नेता–कार्यकर्ता एकताबद्ध भएर लाग्न आग्रह गरे । उनीहरूले संगठनलाई अझ सुदृढ बनाउँदै घर-घरमा पुगेर पार्टीको नीति र कार्यक्रम जनतासमक्ष पुर्‍याउनुपर्नेमा जोड दिएका थिए ।

बैठकले आगामी निर्वाचनमा नेकपाको पक्षमा जनसमर्थन सुदृढ बनाउने र उम्मेदवार वकिल मुसलमानको जित सुनिश्चित गर्न एकताबद्ध भएर लाग्ने निर्णय गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation