सैनामैना, १५ माघ ।
सैनामैना व्यापार संघको आयोजनामा सोमबारदेखि जारी सातौ कृषि, पर्यटन तथा व्यापार महोत्सवमा चहलपहल बढ्न थालेको छ ।
मंगलबार र बुधबार पानी परेकोले महोत्सव प्रभावित भएकोमा विहिवारदेखि मौसम सफा भएकोले चहलपहल बढ्न थालेको हो ।
विहिवार दिउँसो महोत्सव अवलोकन गर्न आउने दर्शकहरुको संख्या बढेको थियो । आयोजकले बुधबार पानी आएको कारण एक दिन निशुल्क अवलोकनको व्यवस्था मिलाउँदा बुधबार साँझ सांस्कृतिक कार्यक्रम हेर्न ठूलो भीड लागेको थियो ।
महोत्सव आयोजक सैनामैना ब्यापार संघका अध्यक्ष सुरेन्द्र पौडेलले अव मौसम सफा भएकोले दर्शकहरुको संख्या बृद्धि हुने आशा गर्नुभयो । उहाँले सैनामैना महोत्सव सवैको महोत्सव भएकोले यसलाई सफल बनाउने दायित्व पनि सैनामैनाबासीको रहेको उल्लेख गर्नुभयो ।
संघले महोत्सवमा ५ करोडको कारोबार हुने र एकलाख दर्शकले अवलोकन गर्ने जनाएको छ । सैनामैना व्यापार संघका सहसचिव तथा प्रचार संयोजक शिबलाल घिमिरेले महोत्सवले सैनामैनाको कृषि, ब्यापार, उद्योग र पर्यटन क्षेत्रको विकासमा सघाउ पु¥याउने बताउनुभयो ।
माघ २५ गतेसम्म हुने व्यापार महोत्सवमा स्थानीय व्यापार, घरेलु उद्योग, कृषक र साना व्यवसायीलाई प्रोत्साहन गर्न सहयोग पुग्ने उहाँको भनाई छ ।
महोत्सवको टिकट एकसय रुपैया कायम गरिएको छ भने विद्यार्थीलाई कार्डको आधारमा छुट तथा बृद्ध र अपांगहरुलाई निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।
संघका प्रथम उपाध्यक्ष तथा महोत्सवको सांस्कृतिक संयोजक दिपेन्द्र ढकालले राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिले महोत्सवको आकर्षण थपेको बताउदै यसका कारण महोत्सवमा फरकपन भएको बताउनुभयो ।
उहाँले महोत्सवबाट उद्योग व्यापारको प्रवद्र्धन, धार्मिक एवं सांस्कृतिक क्षेत्रको संरक्षण र लोक संस्कृतिको जगेर्ना गर्न सहयोग पुग्ने बताउनुभयो ।
महोत्सवको आकर्षणको रुपमा हरेक दिन सांस्कृतिक कार्यक्रम, भजन, डान्सिङ आईडल, महिला पुरुष जोडी नृत्य तथा विद्यालय स्तरीय लोकनृत्य रहेको छ ।











