स्थायी कमिटीका नेता भन्छन्- अब सचिवालय विघटन गरौं

काठमाडौं । पार्टी कार्यालय धुम्बाराहीमा विहीबार बिहान ११ बजे बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक बुधबार साँझ अकस्मात स्थगित भएको छ ।

तयारी नपुगेका कारण बैठक सरेको र अर्को मिति पछि तय हुने महासचिव विष्णु पौडेलले अनलाइनखबरलाई जानकारी दिए । ‘भोलि बस्ने स्थायी कमिटी बैठक सरेको छ’ पौडेलले भने, ‘अर्को बैठकको मिति तय भएको छैन, पछि तय हुन्छ ।’

कार्यकारी अध्यक्ष प्रचण्ड र आफूले प्रस्ताव तयार पार्न नभ्याएको र अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली थाकेका कारण स्थायी कमिटीको बैठक सार्नुपरेको महासचिव पौडेलको भनाइ छ । ‘अध्यक्ष प्रचण्ड र मलाई सचिवालयले प्रस्ताव तयार गर्ने जिम्मेवारी दिएको थियो, महासचिव पौडेलले भने, ‘हामीले प्रस्तावै तयार गर्न भ्याएनौं । अब प्रस्ताव पनि तयार गर्ने र सचिवालयमा प्रस्तुत गर्ने भन्ने भएको छ ।

बिहीबार ११ बजे धुम्बाराहीस्थित पार्टी कार्यालयमा स्थायी कमिटीको बैठक बस्ने एसएमएस सबै स्थायी कमिटी सदस्यहरुको मोबाइलमा झरेको थियो ।

बुधबार बालुवाटारमा बस्ने सचिवालय बैठकले विहीबारको बैठकका लागि प्रस्ताव तय गर्ने भनिएको थियो । तर, बुधबार बसेको सचिवालय बैठकमा भाँडभैलो भएपछि प्रधानमन्त्री ओली उठेर शयन कक्षतिर लागे । सचिवालयले एजेण्डा नै तय गर्न सकेन । र, स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भयो ।

प्रधानमन्त्री थाक्नुभएकाले आराम गर्नुपर्ने भयो : महासचिव

यसअघि नै तय भइसकेको स्थायी कमिटी बैठक प्रधानमन्त्री ओलीले टार्न खोजेको आरोप प्रचण्ड-माधव नेपाल पक्षका पक्षका नेताहरुले लगाएका छन् । बैठक चाँडोभन्दा चाँडो बोलाइनुपर्ने नेताहरुको माग छ ।

तर, महासचिव विष्णु पौडेल भने विपक्षीहरुले सानो विषयलाई ठूलो बनाएको बताउँछन् । प्रधानमन्त्री ओली थाकेका कारण बैठक स्थगित गर्नुपरेको पौडेलको भनाइ छ । र, अध्यक्ष प्रचण्ड र आफूले प्रस्तावै तयार पार्न नभ्याएकाले पनि बैठक सार्नुपरेको महासचिव पौडेलको स्पष्टीकरण छ ।

‘प्रधानमन्त्रीले सचिवालय बैठकको सुरुमा आफ्ना कुराहरु राख्नुभयो, उहाँ थाक्नु पनि भएको थियो, आराम गर्नुपर्ने पनि थियो’ महासचिव पौडेलले अनलाइनखबरसँग भने, ‘मैले आफ्ना कुराहरु राखें, थाकेको पनि छु, बैठक चलाउँदै गर्नु है भनेर उहाँ आराम गर्न जानुभयो । भएको जम्माजम्मी त्यत्ति नै हो । तर, यसैलाई ठूलो विषय बनाइयो ।’

स्थायी कमिटीको बैठक माग गर्ने २० नेता मध्येका एक जनार्दन शर्माले नेकपाको सचिवालयमा स्वार्थहरुको गठजोड भएकाले अब सचिवालय विघटन हुनुपर्ने माग गरे । सचिवालय विघटन गरेर सबै अधिकार स्थायी कमिटीमा ल्याउन पहलसमेत थालिने शर्माले अनलाइनखबरलाई बताए ।

‘यो सचिवालयले अब काम गर्न, निर्णय गर्न सक्दैन, यो असक्षम भइसक्यो । अब सबै निर्णय स्थायी समितिबाट हुनुपर्छ । सचिवालय विघटन हुनुपर्छ’ शर्माले भने, ‘यहाँ प्रहसन मात्रै गर्ने भए । कम्युनिस्ट पार्टीको सचिवालयमा प्रहसन भइरहेको छ, यो प्रहसन बन्द गर्नुपर्छ । अब स्थायी समितिबाटै सबै निर्णय गर्ने गरियो भने समस्या समाधान हुन्छ ।’
सचिवालयका नेताहरु स्वार्थको गठजोडमा मात्रै लागेको र जनताको समस्यामा ध्यान नदिएको शर्माको आरोप छ । उनी भन्छन्, ‘सचिवालयमा स्वार्थहरुको गठजोड छ । पार्टी, जनता र आन्दोलनप्रति चिन्ता गर्ने भन्दा पनि स्वार्थहरुको गठजोड भएको हुनाले कोही कहिले भाग्ने, कोही कहिले कता लाग्ने भइराखेको छ । यो प्रहसन अब सैह्य हुँदैन ।’

प्रचण्ड निकट नेता शर्माले अगाडि भने, ‘अब सचिवालय विघटन गरी स्थायी समितिमा सबै अधिकार राखेर स्थायी समितिले निर्णय गर्ने परिपाटी अब हामी मिलाउँछौं । हामी अब त्यसको पहल गर्छौं । अब जानैपर्ने त्यतै हो ।’ # अन्लाईन खबर

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation