काठमान्डाै- चिनका सैन्य वैज्ञानिकहरूले सार्स कोरोनाभाइरसलाई पाँच वर्षअघि नै हतियार बनाउने विषयमा छलफल गरेको दाबी द अस्ट्रेलियन नामक पत्रिकाले गरेको छ ।
तेस्रो विश्वयुद्ध जैविक हतियारले लडिने अनुमान गर्दै उनीहरूले एक दस्तावेज समेत तयार पारेको दाबी छ ।
उक्त दस्तावेज चिनियाँ जनमुक्ति सेनाका वैज्ञानिक तथा चीनको सार्वजनिक स्वास्थ्यका वरिष्ठ अधिकारीहरूले सन् २०१५ मा तयार पारेका हुन् ।
अमेरिकाको परराष्ट्र मन्त्रालयले कोभिड १९ को उत्पत्तिका विषयमा अनुसन्धान गर्दा उक्त दस्तावेज हात पारेको द अस्ट्रेलियन पत्रिकाले पुष्टि गरेको छ ।
उक्त दस्तावेजमा सार्स कोरोनाभाइरस नयाँ युगको जेनेटिक हतियार भएको भनी लेखिएको छ । यसलाई रोग गराउने भाइरसका रूपमा कृत्रिम तरिकाले बदल्न सकिने र हतियार बनाएर शत्रुमाथि प्रयोग गर्न सकिने भनी त्यसमा उल्लेख गरिएको छ ।
कोभिड १९ को उत्पत्तिका विषयमा जाँचबुझ गर्नका लागि चीनले रोक लगाएको तथा पारदर्शिता नअपनाएको भनी विवाद उठेको अवस्थामा यो दस्तावेज फेला पर्नुले शंका झनै बढाएको छ ।
यो खुलासाको विस्तृत विवरण सेप्टेम्बर महिनामा प्रकाशित हुन लागेको खोजमूलक पुस्तक ‘ह्वाट रियल्ली ह्यापन्ड इन वुहान’मा समावेश गरिएको छ । उक्त पुस्तक अस्ट्रेलियाकी खोज पत्रकार शार्री मार्कसनले लेखेकी हुन् ।
लाेकान्तरबाट