सर्वसम्मत नभए माओवादी पनि चुनावी प्रतिस्पर्धामा जाने

काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहाल पुस ११–१३ मा हुने राष्ट्रिय सम्मेलनमा पेस गर्ने राजनीतिक दस्ताबेज लेखिरहेका छन् । यो सम्मेलनले आगामी कार्यदिशा र नीति तय गर्नुका साथै नेतृत्व चयन गर्नेछ । नेताहरूले भने नीतिभन्दा पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिमा पर्नका लागि दौडधुप गरिरहेका छन् ।

पार्टीको विधानले केन्द्रीय समिति २ सय ९९ जनाको व्यवस्था गरे पनि आकांक्षीहरू तीन गुणा बढी भएको माओवादीले जनाएको छ । ‘जो पनि केन्द्रीय समिति र त्योभन्दा माथिल्लो पद अध्यक्षसँग मागिरहेका छन्, यसले अध्यक्ष हैरान हुनुभएको छ,’ दाहालनिकट एक नेताले भने, ‘कसलाई ल्याउने, नल्याउने भन्नुभन्दा आवश्यक परे अध्यक्ष चुनाव गराउने पक्षमा हुनुहुन्छ ।’

२०७५ अघि माओवादीले चार हजार सदस्यको केन्द्रीय समिति बनाएको थियो । २०७५ जेठमा एमालेसँग एकता गर्दा उसले चार सय सदस्य भएको केन्द्रीय समिति बनाएको थियो । माओवादीको वाग्मती प्रदेशमा सर्वसम्मत नभएपछि चुनाव भएको छ । माओवादी नेता नारायण दाहालले पार्टीमा स्वस्थ प्रतिस्पर्धा सुरु भएको बताए । ‘पार्टीमा आन्तरिक लोकतन्त्रको सुन्दर अभ्यास सुरु भएको छ,’ उनले भने, ‘स्वस्थ ढंगले प्रतिस्पर्धा भएको छ । उम्मेदवारले आफूलाई मात्र मत माग्ने व्यवस्था छ ।’ अध्यक्षमा सरल सहयात्री पौडेल र दीनानाथ गौतमबीच प्रतिस्पर्धा भएको थियो । यसले माओवादीको केन्द्रीय नेतृत्व चयनमा पनि चुनाव हुने संकेत देखिएको छ ।

माओवादी नेता राम कार्कीले सर्वसम्मत हुन नसके चुनावी बाटोबाट प्रतिस्पर्धा गर्न खुला गर्नुपर्ने बताए । ‘सर्वसम्मत भए राम्रो हो तर भएन भने निर्वाचनबाट प्रतिस्पर्धामा जानुपर्छ, बिस्तारै अभ्यास सुरु गर्नुपर्छ,’ उनले भने । पार्टी अध्यक्षमा दाहाललाई कसैले चुनौती नदिए पनि त्यसपछिको प्रमुख कार्यकारी पद महासचिवलाई लिएर आकांक्षीबीच पेचिलो संघर्ष सुरु भएको छ ।

महासचिवमा स्थायी कमिटी सदस्यहरू कृष्णबहादुर महरा, जनार्दन शर्मा, वर्षमान पुन मुख्य दाबेदारका रूपमा देखिएका छन् । पम्फा भुसाल, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेलले महासचिवको चाहना राखेका छन् । तर निर्वाचन प्रक्रियामार्फत चयन हुने सम्भावना कम भएकाले अध्यक्ष दाहालको सद्भाव रहने नेता नै महासचिव बन्नेछन् । कांग्रेस महामन्त्रीमा दुवै युवा नेता आएकाले माओवादीमा पनि युवाको दाबी स्वाभाविक रहने नेताहरूले बताएका छन् ।

संसद् सचिवालयमा कार्यरत एक महिलालाई बलात्कार प्रयासको अभियोगमा सभामुखबाट राजीनामा दिएका महरा अदालतबाट सफाइ पाएसँगै पुनः पार्टीमा सक्रिय भएका छन् । हाल उनी पार्टी प्रवक्ता छन् । लामो समय दाहालसँग निकट रहेर काम गरेका तथा पटक–पटक विभिन्न राजनीतिक पद पाएका महरा अहिले महासचिवका आकांक्षी हुन् ।

पार्टीमा तेस्रो वरीयतामा रहेका कारण महासचिवमा महराको स्वीकार्यता सहज भए पनि सभामुख हुँदाको विवाद उनका लागि बाधक बनेको छ । रोजाइमा परे पनि महराको ‘नैतिक धरातल कमजोर’ भएकाले विपक्षीका लागि राजनीतिक मुद्दा हुन्छ कि भन्ने डर दाहालमा छ । ‘वरिष्ठतालगायत सबै पक्षबाट महराजीलाई अगाडि बढाउन अध्यक्षलाई सजिलो होला तर विगतकै विवाद कतै ब्याक फायर हुन्छ कि भन्ने डर पनि छ,’ दाहालनिकट एक स्थायी कमिटी सदस्यले भने ।

महासचिवको प्रतिस्पर्धामा लागेका अर्का नेता हुन्– संगठन विभाग प्रमुख शर्मा । उनी हाल अर्थमन्त्रीसमेत छन् । आफ्नै खुट्टामा उभिएको पार्टी बनाउने आत्मविश्वास र मार्गचित्रसहित शर्माले महासचिव बन्ने आकांक्षा राखेका छन् । दाहालसँग कहिले सहकार्य त कहिले संघर्षको नीति लिने उनी सक्रिय नेतामध्ये पर्छन् । शर्माले अहिले प्रचण्डपथ ब्युँताउनुपर्ने माग उठाउँदै आएका छन् ।

प्रदेश र जिल्ला तहसम्म आफ्नो पक्षमा नेता–कार्यकर्ता बनाएका शर्माले महासचिव बनेर माओवादीलाई नयाँ ढंगले चलाउने दाबी गर्दै आएका छन् । गृहजिल्ला रुकुममा उनले माओवादीको बलियो संगठन निर्माण गरेका छन् । ‘महासचिवका लागि शर्मालाई दाहालले एउटा विकल्पका रूपमा हेरेका छन्,’ दाहालनिकट एक केन्द्रीय सदस्यले भने, ‘पार्टीभित्र ठूलो विरोधको स्वर नउठे शर्मा महासचिव बन्न सक्छन् ।’ तर स्थायी कमिटीकै केही सदस्यले शर्मालाई महासचिव नबनाउन दाहाललाई सुझावसमेत दिएका छन् ।

पूर्वमन्त्री पुन पनि माओवादीमा महासचिवका प्रमुख दाबेदार हुन् । उनी अहिले चीनमा उपचाररत छन् । स्वास्थ्यका कारण महासचिव बन्न कठिन हुन सक्ने दाहालनिकट ती नेताको भनाइ छ । ओली सरकारमा पुन ऊर्जामन्त्री थिए । ‘वर्षमानजी एउटा सशक्त दाबेदार त हो तर स्वास्थ्यले साथ दिन आवश्यक छ,’ दाहालनिकट ती नेताले भने । पुनले दाहालसँग टेलिफोन संवाद गर्दै आएका छन् ।

महासचिवका लागि आकांक्षा राख्नेमा ऊर्जामन्त्री भुसाल पनि छिन् । पार्टी विभाजन हुँदा मोहन वैद्यतिर लागेकी उनी ०७४ को चुनावअगाडि माओवादीमा फर्केकी थिइन् । पार्टीभित्र उनी सबैभन्दा वरिष्ठ महिला नेता हुन् । दाहालसँग उनको सम्बन्ध राम्रो छ । ‘सरकारमा राम्रो जिम्मेवारी दिनुभएको छ, अहिले महासचिवको भूमिका दिनेबारे अध्यक्षले आश्वस्त पारेजस्तो लाग्दैन,’ दाहालनिकट नेताहरूले भने ।

महासचिव बन्न स्थायी कमिटी सदस्य पोखरेलले पनि चाहना राखेका छन् । पार्टीमा उनी नारायणकाजी श्रेष्ठनिकट नेता हुन् । पछिल्लोपटक दाहाल र श्रेष्ठबीच सम्बन्ध राम्रो छैन । शेरबहादुर देउवा नेतृत्वको सरकारमा श्रेष्ठ उपप्रधानमन्त्रीसहित आफैं सहभागी हुन खोजेका थिए तर दाहालले श्रेष्ठलाई मात्र रोकेनन्, उनीनिकट नेतालाई समेत मन्त्री बनाएनन् । दाहाल–श्रेष्ठ खटपट पोखरेलका लागि पनि बाधक बनेको छ । ‘जनयुद्धको विरासत’ पनि नरहेकाले पोखेरललाई महासचिव बनाउन दाहाललाई सहज छैन ।

पहिला कोषाध्यक्ष भएका स्थायी कमिटी सदस्य गजुरेलको चाहना पनि उपाध्यक्ष वा महासचिवमध्ये एकमा छ । तर उनी अहिले आफ्नो ध्यान पदाधिकारीभन्दा पनि वैचारिक, राजनीतिक विषयमा धेरै रहेको बताउँछन् । ‘मेरो ध्यान वैचारिक, राजनीतिक विषयमा बढी छ, म कोषाध्यक्ष भइसकेको छु,’ गजुरेलले भने, ‘त्यसकारण पदाधिकारीमा दाबी हुनु स्वाभाविक होला तर वैचारिक लाइन कस्तो पास हुन्छ त्यसले भर पर्छ ।’ गजुरेलले पनि लामो समयदेखि दाहाललाई साथ दिँदै आएका छन् । पूर्वमन्त्रीसमेत रहेका गजुरेल माओवादीका सिनियर नेतामा पर्छन् ।

माओवादी नेताहरूका अनुसार राष्ट्रिय सम्मेलनले पहिला केन्द्रीय कमिटी निर्वाचित गर्छ । त्यसपछि निर्वाचित केन्द्रीय सदस्यमध्येबाट पदाधिकारी चयन हुनेछन् । माओवादीले प्रदेशहरूको सम्मेलनमा पनि यही अभ्यास गर्दै आएको छ । माओवादी केन्द्रको अन्तरिम विधानमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षसहित २ सय ९९ सदस्यीय केन्द्रीय समितिको व्यवस्था छ ।

तर राष्ट्रिय सम्मेलनबाट विधान संशोधन गरेर बहुपदीय प्रणालीमा जाने गरी गृहकार्य भएको छ । स्थायी कमिटी सदस्य लीलामणि पोखरेलका अनुसार माओवादी बहुपदमा जाने गरी विधान संशोधनको तयारी भएको छ । माओवादीले ११ देखि १५ पदाधिकारी राख्ने गरी तयारी गरेको छ । यद्यपि कति पदाधिकारी राख्ने भन्ने अन्तिम निर्णय राष्ट्रिय सम्मेलनले गर्ने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation