
काठमाडौं असार १२ । सहकारीका बचतकर्ताको १२ अर्ब रकम ठगेर भागेका शिव शिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा भारतबाट पक्राउ परेका छन।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले शर्मालाई भारतको मुम्बईबाट पक्राउ गरिएको हो। शर्मा भागेपछि शिव शिखर सहकारी, तुलसी सहकारी संगै उनको लगानी रहेको अर्थन्युजएचडी टेलिभिजन समेत बन्द भएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शर्मालाई भारतको मुम्बईबाट पक्राउ गरेर सोमबार काठमाडौं ल्याएको हो। उनी नेपालबाट भागेर भारतको मुम्बईमा एकजना भारतीय नेताको घरमा लुकेर बसेका थिए।
ब्यूरोका प्रमुख एआईजी किरण बज्राचार्यले शर्मालाई पक्राउ गरेको पुष्टि गरेकी छन्। उनले शर्मा नेपालबाट भागेर महाराष्ट्र राज्यमा लुकेर बसेको अवस्थामा फेला परेको बताइन्। उनलाई मंगलबार अदालतमा उपस्थित गराइने तयारी छ।
शर्मा अध्यक्ष रहेको शिव शिखर सहकारी र तुलसी सहकारीले १२ अर्बभन्दा धेरै रूपैयाँ सर्वसाधारणको निक्षेप हिनामिना गरेको छ। घटनामा मुख्य नाइके शर्मा भएको अनुसन्धानमा खुलेपछि उनी बिरुद्ध भक्तपुर र मोरङमा मुद्दा दायर भइसकेको छ।
अन्य जिल्लामा उनीविरुद्ध अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । उनी भागेपछि उनले लगानी गरेर सञ्चालन गरेको अर्थन्युजएचडी टेलिभिजन गत शुक्रबारबाट बन्द भएपछि त्यहाँ कार्यरत पत्रकार र कर्मचारीहरुको बिचल्ली भएको छ।