बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले नयां पुस्तालाई आफ्नो मौलिक पहिचाहन र सांस्कृतिक पहिचानलाई हस्तान्तरण, प्रबर्द्धन र संरक्षण गर्न अपिल गर्नु भएको छ। विभिन्न जातीय विशेषता बोकेको चाड पर्वको मौलिक पहिचान कायम राख्न र संस्कृतिको संरक्षण गर्न आधुनिकतासंगै चुनौती थपिएको जनाउनु हुँदै उहाँले यस्तो अपिल गर्नुभएको हो ।
“राज्यले सबै समुदायका भाषा, संस्कृतिको नीतिगत प्रवद्र्धन गर्न सक्छ तर यसको संरक्षण गर्ने मुख्यतः जिम्मेवारी सम्वन्धीत समुदायकै हो ।” तराईका आदिवासी थारु समुदाय र पहाडका आदिवासी मगर समुदायको राष्ट्रिय पर्व माघी/माघे सकराती (मकर संक्रान्ति)को अवसरमा आज बिहान सभामुख घर्ती मगरले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ -” नयां पुस्तालाई आफ्नो मौलिक पहिचाहन र सांस्कृतिक पहिचानलाई हस्तान्तरण प्रवद्र्धन र संरक्षण गर्न समेत म अपिल समेत गर्दछु ।”
भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढङ्गले मनाउने यो पर्व नेपाली मौलिक विशेषताको पर्व रहेको उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।
“बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषतायुक्त मुलुकमा यस प्रकारको पर्वको आफ्नै महत्व रहेको छ ।” शुभकामना सन्देशमा उल्लेख छ -यो पर्व प्रकृतिप्रेमी र प्रकृति पुजक समुदायको मुख्य पर्व मानिन्छ ।”
नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीहरुका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्वहरु रहेका छन् । माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् । मगर समुदायले पनि यसलाई आफ्नो मूख्य चाडको रुपमा धुमधामका साथ मनाउँछन् भने नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने छेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ, आदि सबै जातजातिले यस पर्वलाई आ–आफ्ना परम्परा, भिन्न भिन्न विशेषता र प्रकृतिले मनाउने गरेका छन् । धार्मिक, सांस्कृतिक र सामाजिक महत्व बोकेका यी चाडपर्वहरुले उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा भाइचारा स्थापित गर्न भूमिका खेल्दै आएका छन् ।
लुम्विनी प्रदेश सभा विभिन्न भेष–भूषा, धर्म, संस्कृति, रहन–सहन, रिति–रिवाजलाई अंगिकार गर्ने सबै समुदायको हक अधिकारलाई स्थापित गर्दै सामाजिक न्यायको शिद्धान्तमा आधारित भई कानुन तथा नीति निर्माण र कार्यान्वय गरिरहेको सभामुख घर्ती मगरले जनाउनु भएको छ । प्रदेश सरकारले यो पर्वको महत्ववोध गरी दुई दिन सम्म सार्वजनिक विदा दिएको छ । उहाँले आर्थिक, राजनैतिक, धार्मिक, सांस्कृतिक हिसावले पछाडी पारिएका समुदाय, क्षेत्र, लिङ्ग, वर्गको उत्थान गर्दै समतामुलक सम्मुनत समाज निर्माणमा नीतिगत रुपमा पहल कदमी लिएको र लिईरहने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको छ ।
यस पर्वले राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा उर्जा प्रदान गर्ने अपेक्षा गर्दै प्रकृतिप्रेमी सम्पूर्ण नेपालीहरूको बीचमा बन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुता, एकता कायम गर्ने प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।