जलवायु-विपत्तिले कसरी पिरोल्दै छ किसानलाई?

जलवायुको चरित्रमा आएको फेरबदलको असर खेतबारीसम्मै आइपुग्दा अधिकांश किसानको जीविकोपार्जनमा समस्या आइपरेको छ।

देशको राजधानी काठमाडौंलाई हरियो तरकारीको आपूर्ति गर्ने प्रमुख उत्पादन केन्द्र धादिङका किसानका खेतबारीमा यो साल वर्षे तरकारी राम्ररी फस्टाएन। लम्बिएको मनसुनी झरीका कारण काउली, बन्दा, साग, काँक्रा जस्ता तरकारी सप्रिन नपाउँदै खेतमै खेर गए। धादिङको बेनीघाट रोराङ गाउँपालिका–४ कुन्लेका किसान प्रेम घले भन्छन्, “यो वर्ष काउली, बन्दाबाट एक सुको आम्दानी भएन। म मात्रै होइन, गाउँभरिका किसान रोएका छन्।”

उक्त गाउँका एक दर्जनभन्दा बढी किसान परिवार तरकारी फलाएर काठमाडौंका व्यापारीलाई बिक्री गरी घरव्यवहार धान्छन्। घलेले यो वर्ष करीब नौ रोपनी जग्गामा काउली र बन्दा लगाएका थिए। तर, निरन्तरको झरी र वेलावेला आएको आरीघोप्टे पानीले तरकारी सप्रिन नपाएको उनले बताए। “यो वर्ष पानीले गर्दा कम्तीमा एक किलो हुनुपर्ने काउलीको थुँगा एक सय ग्राम पनि पुगेन, त्यस्तो काउली कसले किन्छ?” घलेले भने, “बन्दा पनि नसप्रिंदै कुहियो।”

धादिङको बेनीघाट रोराङ गाउँपालिका–४ कुन्लेमा लगातारको वर्षाका कारण नसप्रिएको काउली ।
यो वर्ष बजारमा काउली, बन्दा, साग आदिको बजार मूल्य राम्रो छ। काउली प्रतिकिलो ५०/६० रुपैयाँमा खेतबाटै बेच्न सकिने मौका थियो। तर, घलेको मिहिनेत र लगानी खेर गयो। त्यही गाउँका अर्का किसान लक्ष्मण गुरुङले पनि १३ रोपनी जग्गामा काउली र बन्दा लगाउँदा खर्च भएको रु.२ लाख गुमेको बताए। अर्का किसान तारा दनैले सात रोपनीमा लगाएको वर्षे तरकारी बेचेर जम्मा रु.१० हजार जति हात पारे, जब कि उनको लगानी नै रु.१ लाख जति भएको थियो। “एक महीनामै काउली छिस्स फुल्यो, बढ्दै नबढी त्यसै खेर गयो,” उनले भने।

कृषि विभागका प्रवक्ता डा. महादेवप्रसाद पौडेले मनसुनी वर्षा लम्बिएका कारण तरकारी पोसाउन नपाएको, जसले गर्दा उत्पादन घटेर बजार मूल्य महँगो भएको बताउँछन्। विभाग अन्तर्गतको तरकारी बाली विकास केन्द्रका बागवानी विकास अधिकृत डोलराज पाण्डेका अनुसार पनि, यो वर्ष पानी धेरै परेकाले वर्षे तरकारी सप्रिन नपाएको हो। “तापक्रम बढी भएको वेला माटोमा पानीको मात्रा धेरै हुँदा काउली, बन्दामा माटोसँग जोडिएको भागमा बोक्रा खुइलिएर फेद कुहियो। जसले गर्दा तरकारी उत्पादन घट्यो,” पाण्डेले भने।

थप सामग्री : https://www.himalkhabar.com/news/126302

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation