भारतीय वरिष्ठ सेनाधिकृत सवार हेलिकोप्टर दुर्घटनाग्रस्त

भारतीय सेनाका प्रथम तथा बहालरत चिफ अफ डिफेन्स स्टाफ ९सिडिएस० विपिन रावत चढेको हेलिकोप्टर दुर्घटनामा परेको छ । उनी दुई वर्षअघि भारतीय सेनाध्यक्षबाट उक्त पदमा नियुक्त भएका थिए ।

दक्षिण भारत,तमिलनाडुको कुन्नुरमा भएको भारतीय वायुसेवाको एमआई १७ हेलिकोप्टर दुर्घटनामा रावतकी श्रीमतीको निधन भएको छ । दुर्घटनामा चार जनाको निधन र अन्य तीन जना विभिन्न ओहोदाका सैनिक गम्भीर घाइते भएको बताइन्छ ।

दुर्घटनाग्रस्त हेलिकोप्टर जलेर ध्वस्त भएको छ । घाइतेलाई नजिकैको अस्पतालमा लगिएको छ । दुर्घटनाको छानबिनको निम्ति वायु सेनाले आदेश दिएको छ । रावत सिकिस्त अवस्थामा भेटिएकाले उनलाई अस्पताल लगिएको बताइएको छ ।

भारतीय मन्त्रिमण्डलको बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहलाई उक्त घटनाको बारेमा भर्खरै जानकारी दिइएको सञ्चार माध्यमहरुले बताएका छन् ।

दुई वर्षअघि प्रधानमन्त्री नरेन्द्र मोदीले सिडिएस पदको विशेष व्यवस्था गरेर रावतलाई नियुक्त गर्नुभएको थियो । उनले यसबीचमा भारतीय रक्षा मन्त्रालय र जल,स्थल र वायु सेनाको बीचमा संयोजकको भूमिका खेल्दै आएका थिए ।

सन् १९७८ को डिसेम्बरमा ११ औं गोर्खा राइफल्सको पाँचौ बटालियनबाट भारतीय सेनामा सेवा थालेका उनका पिता पनि त्यही बटालियनमा थिए । उनी समय मिलाएर मुक्तिनाथ दर्शनको लागि नेपाल आउने तयारीमा समेत थिए ।

अघिल्लो पटक भारतीय स्थल सेनाध्यक्ष हुँदा नेपाली सेनाको मानार्थ सेनापतिको ओहोदा ग्रहणको निम्ति नेपाल आउँदा खराब मौसमका कारण उनी मुक्तिनाथ जान पाएका थिएनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation